युक्रेन–रुस युद्धमा प्रविधि हाबी, रोबोटले धकेल्दै छ रुसलाई


पूर्वी युक्रेनमा एउटा युद्ध अब केवल मानवीय लडाइँ रहेन, त्यहाँ अब युद्धको मोर्चा स्क्रिन, ज्वोइसिक कन्ट्रोलर र लाइभस्ट्रीमको माध्यमबाट चलिरहेको छ, जहाँ सैनिकहरू युद्धमैदानमा होइन, भूमिगत कमान्ड सेन्टरहरूमा गेमिङ कुर्सीमा बसेर आक्रमण निर्देशन गरिरहेका छन् ।
युद्धको बीचमा एक भड्किलो आवाज, धुलोको बादल र केही सेकेन्डको मौनतापछि ठूलो विस्फोट हुन्छ । यो दृश्य प्रत्यक्ष ड्रोन क्यामेराबाट नियन्त्रित हुन्छ, जसले रुसका मोर्चामा रहेका लक्ष्यहरूमा आक्रमणको परिणाम देखाइरहेको हुन्छ । यसरी अब युक्रेनी सेना सिधै मैदानमा नउत्री रोबोट र ड्रोनमार्फत युद्ध सञ्चालन गरिरहेको छ ।
युक्रेनको केही विशेष इकाइहरू, जस्तैः तेस्रो असल्ट ब्रिगेडको एनसि १३ युनिट० ले रोबोटिक आक्रमणमार्फत ठुलो रणनीतिक परिवर्तन ल्याएको दाबी गरेका छन् । उनीहरूको अनुमान अनुसार, १६४ वटा आक्रमणमा रोबोट प्रयोग गर्दा २,३०० सैनिकको आवश्यकता पर्थ्यो र आधा युक्रेनी सैनिकहरू मारिने वा घाइते हुने सम्भावना थियो । तर अहिले रोबोटले त्यो जोखिम घटाएको छ ।
सैनिक अधिकारीहरूले यी मेसिनलाई ‘साइलेन्स डेथ’ अर्थात् ‘मौन मृत्यु’ भन्ने नाम दिएका छन् । यी चार पाङ्ग्रे रोबोटहरूले विस्फोटक पदार्थ बोकेर रुसको अग्रपंक्तिमा प्रवेश गर्छन् । उनीहरूलाई १० मिटर टाढा पुगेपछि मात्र सुन्न सकिन्छ, त्यो पनि विस्फोट हुनुको ठीक अघि । युद्ध अब केवल हतियार होइन, डेटा, एल्गोरिदम र कृत्रिम बुद्धिमत्ताको खेल बनेको छ । २२ वर्षिया युक्रेनी सफ्टवेयर इन्जिनियर गोरा भन्छिन्, ‘मुख्य कुरा गाडी होइन, सोच हो, कसरी प्रणालीहरू जोडिन्छन्, कसरी सञ्चार हुन्छ ।’
तर यो प्रविधि पूर्ण रूपमा सुरक्षित छैन । रुसले जीपीएस प्रणालीलाई अवरुद्ध गर्ने (स्फूनिङ) जस्ता उपाय प्रयोग गर्दा कतिपय रोबोटहरू आफ्नो बाटो नै गुमाइरहेका छन् । कतिपय अवस्थामा सैनिकहरूले पुराना ड्रोन फुटेजको आधारमा मार्ग तय गर्नुपरेको छ । अर्कोतर्फ, युक्रेनी सेनाले रोबोटहरूलाई केवल विस्फोटक आक्रमणमा मात्र होइन, घाइते सैनिकको उद्धार, आपूर्ति ढुवानी र मोर्चामा हतियार पुर्याउन पनि प्रयोग गरिरहेको छ । कतिपय रोबोटहरूले मेशिनगन बोकेर लुकेर दिनौँसम्म लक्ष्य पर्खने क्षमता राख्छन् ।
युद्धको अर्को पक्षमा, युक्रेनका सैनिकहरू अत्यधिक थकान र लामो समयको मोर्चा जीवनबाट गुज्रिरहेका छन् । केही सैनिक ३४० दिनभन्दा बढी लगातार खाडलमै बसेका छन् । उनीहरूको मानसिक र शारीरिक अवस्था अत्यन्त कमजोर बनेको रिपोर्ट गरिएको छ ।
सैनिकहरू भन्छन्, निरन्तर ड्रोन आक्रमणका कारण उनीहरूलाई न त आराम मिल्छ, न सुरक्षित स्थानको अनुभूति । ‘हामीले बालुवा भरिएका बोरा पनि सक्यौं, जे भेटियो त्यहीले जोगिन खोज्यौं,’ एक सैनिकले भने ।
विश्लेषकहरूका अनुसार यो युद्धले विश्वमा युद्धको स्वरूप नै बदलिरहेको छ । अब मानव सैनिकभन्दा प्रविधि र स्वचालित प्रणाली निर्णायक बन्दै गएका छन् ।
तर यस प्रविधिले युद्धलाई छिटो र घातक बनाइरहेको छ । युक्रेनका अधिकारीहरूका अनुसार उनीहरूको लक्ष्य महिनामा हजारौँ रुसी सैनिकलाई क्षति पुर्याउनु हो, जसले रुसलाई राजनीतिक र सैन्य दबाबमा पार्ने रणनीति हो ।
यसरी पूर्वी युक्रेनमा युद्ध अब मानव शक्ति मात्र होइन, मेसिन र कृत्रिम बुद्धिमत्ताले तय गरिरहेको छ । यसले भविष्यको युद्धको स्वरूप स्पष्ट रूपमा परिवर्तन हुँदै गएको देखाउँछ ।






















