सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो


काठमाडौँ । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’ नाराका साथ अमेरिकाको शनिबार सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमा सगरमाथा दिवस मनाइएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट शुभारम्भ भएको कार्यक्रममा त्यहाँस्थित महावाणिज्यदूत लक्ष्मण खनालले सगरमाथा दिवसको महत्वबारे चर्चा गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका सम्बन्धमा जानकारी दिए ।उक्त महावाणिज्य दूतावासका अनुसार उनले कार्यक्रमका सहभागीहरूलाई आगामी भ्रमण गन्तव्यका रूपमा नेपाल रोज्न आग्रह गरे ।
महावाणिज्यदूत खनालले मार्च २०२६ मा नेपालमा सुशासन र आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाउँदै बलियो जनादेश प्राप्त सरकार गठन भएको उल्लेख गर्दै सरकारले लगानीमैत्री नीतिगत सुधार तथा प्रोत्साहन कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए ।
उनले पूर्वाधार, पर्यटन, सेवा क्षेत्र तथा सूचना प्रविधि (आइटी) उद्योगमा लगानीका सम्भावनाहरूको अध्ययन गर्न व्यवसायीहरूलाई सुझाव दिन आग्रह पनि गरे ।
अमेरिकी विदेश मन्त्रालयको सान फ्रान्सिस्कोस्थित विदेशी नियोग कार्यालयका क्षेत्रीय निर्देशक जोन वाई चोईले सगरमाथाको पहिलो सफल आरोहणको स्मरणमा मनाइने सगरमाथा दिवसका अवसरमा नेपाल र नेपाली समुदायप्रति बधाई ज्ञापन गर्दै हालका वर्षहरूमा अमेरिका–नेपाल सम्बन्ध सबै तहमा सुदृढ बन्दै गएको बताए ।
उनले अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण तथा दुई देशबीच बढ्दो संवाद र सहकार्यले पारस्परिक सम्बन्ध अझ सुमधुर भएको बताए ।क्यालिफोर्नियाका लेफ्टिनेन्ट गभर्नरका वैदेशिक मामिला सल्लाहकार इभान रिडले अमेरिका र नेपालबीच बढ्दो सम्बन्ध र साझेदारीबारे चर्चा गर्दै अवसर र नवीनताको केन्द्र क्यालिफोर्निया तथा हिमालयको प्रवेशद्वार नेपालबीच जनस्तरको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए ।
उनले व्यापार, पर्यटन, शिक्षा, वातावरण संरक्षणलगायत क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
रिचमण्ड सहरका प्रमुख एडुआर्डो मार्टिनेजले नेपाल तथा विश्वकै लागि महत्वपूर्ण अवसरका रूपमा रहेको सगरमाथा दिवस मनाउन पाएकामा खुसी व्यक्त गर्दै रिचमण्डमा उल्लेख्य सङ्ख्यामा बसोबास गरिरहेका नेपाली समुदायप्रति आफ्नो उच्च सम्मान रहेको बताए । उनले नेपाली समुदायको योगदानले सहरको सामाजिक संरचना तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
महावाणिज्य दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हर्कुलस सिटीका निर्वाचित ‘काउन्सिल’ सदस्य दिली भट्टराईले ७३ वर्षअघि तेन्जिङनोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक महत्वबारे चर्चा गर्दै उक्त उपलब्धिले मानवजातिलाई अझ उचाइमा पुग्न र अगाडि बढ्न प्रेरित गरिरहेको बताए ।
क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीकी अनुसन्धानकर्ता नीमा शेर्पाले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावसम्बन्धी आफ्नो अनुसन्धानका निष्कर्ष प्रस्तुत गरे।
त्यस अवसरमा सान फ्रान्सिस्को बे क्षेत्रमा बसोबास गर्ने चार जना सगरमाथा आरोहीलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो । पाँच पटक सगरमाथा आरोहण गर्नुभएका ल्हाक्पानोर्बु शेर्पाले आफ्नो आरोहण अनुभव सुनाउँदै उच्च हिमाली क्षेत्रमा देखिएका जलवायु परिवर्तनका प्रभावबारे चर्चा गरे ।
त्यसैगरी, मेघा शर्माले आफ्नो ‘स्मरणीय एभरेष्ट बेस क्याम्प यात्रा’को अनुभव सुनाउँदै सहभागीहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरे ।युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसकी प्राध्यापक तथा पूर्वपिस कोप्र्स स्वयंसेवक डा फेथ बाउचरले नेपाल र नेपाली जनतासँगको आफ्नो अनुभूति सुनाए ।
कार्यक्रममा विभिन्न सरकारी अधिकारी, सान फ्रान्सिस्को कन्सुलर कप्र्सका सदस्य, नेपालका शुभेच्छुकहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिस, युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कली, स्टानफोर्ड विश्वविद्यालय तथा युनिभर्सिटी अफ सान फ्रान्सिस्कोका प्राध्यापक एवं शिक्षाविद्, बे एरियाका नेपाली उद्यमी तथा अनुसन्धानकर्ता, साथै बे क्षेत्र र साक्रामेन्टोस्थित नेपाली सामुदायिक संस्थाका प्रतिनिधिसहित ७० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।
महावाणिज्य दूतावासले यो कार्यक्रमका माध्यमबाट नेपालको राष्ट्रिय गौरव सगरमाथाको अन्तरराष्ट्रिय महत्व उजागर गर्नाका साथै नेपाल–अमेरिका सम्बन्ध, पर्यटन प्रवद्र्धन, लगानी आकर्षण तथा सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।






















