समाज

सरोज कुमार यादवको पहलमा धर्मशाला शिलान्यास

रासस
२०८३ जेष्ठ १६ | मध्यान्ह ०२:०२ बजे

जेठ १६ गते । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. १ बरेडवामा मधेश प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास कार्यालय गौरको आर्थिक सहयोगमा निर्माण हुन लागेको सामुदायिक धर्मशाला भवनको आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। स्थानीयवासीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निर्माण हुन लागेको उक्त धर्मशाला भवन करिब २७ लाख रुपैयाँको लागतमा निर्माण गरिने भएको छ।

भवन दुई कोठे रहने र सामाजिक, धार्मिक तथा सामुदायिक कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने जनाइएको छ। भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा वडा अध्यक्षका प्रत्याशी दीपलाल यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

निर्माण व्यवसायी संघ रौतहट शाखाका निर्वाचित सदस्य सरोज कुमार यादवले उक्त भवन निर्धारित मापदण्डअनुसार गुणस्तरीय रूपमा निर्माण गरिने जानकारी दिए। उनले भवन निर्माण सम्पन्न भएपछि स्थानीय समुदायलाई विभिन्न सामाजिक तथा धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे। स्थानीयवासीहरूले धर्मशाला भवन निर्माणले गाउँमा आवश्यक सामुदायिक पूर्वाधारको अभाव केही हदसम्म पूरा हुने बताउँदै प्रदेश सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले सामुदायिक भवन निर्माणले स्थानीय स्तरमा सामाजिक सद्भाव, एकता र सामुदायिक सहभागितालाई थप मजबुत बनाउने धारणा व्यक्त गरेका थिए। साथै निर्माण कार्य समयमै सम्पन्न गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

कमेन्टहरु