युरोपेली मुलुकहरू किन भत्काउँदै छन् सयौँ बाँधहरू ?


नदी लगभग तुरुन्तै आफ्नो पुरानो लयमा फर्कियो ।फिनल्याण्डको हिटलान्जोकी नदीमा रहेका बाँधहरू भत्काइएपछि, नदीमा परिवर्तन आउन थाल्यो । पानीको बहाव तीव्र र चिसो भयो, र यसको सुसावट कुनै जलाशयको जस्तो नभई पुनः नदीको जस्तै सुनिन थाल्यो । त्यसपछि माछाहरू देखा परे । सय वर्ष यता पहिलो पटक, तीनवटा जलविद्युत बाँधहरू रहेका स्थानहरू पार गर्दै सालमन माछाहरू नदीको माथिल्लो भ्रागतर्फ लागे, एक शताब्दीभन्दा बढी समयदेखि थुनिएको नदीको हिस्सामा पुनः आफ्नो अधिकार जमाए ।
यस्तै खालका परिवर्तनहरू युरोपभरि भइरहेका छन्, जहाँ विभिन्न देशहरूले पुराना हुँदै गएका बाँधहरू भत्काइरहेका छन् । यी बाँधहरू त्यस्ता अवरोधहरू हुन् जसले कुनै समय मिल र कारखानाहरू सञ्चालन गर्थे, तर अहिले तिनको उपयोगिता खासै छैन ।
डब्लुडब्लुएफ नेदरल्याण्ड्सकी वरिष्ठ सल्लाहकार तथा ताजा पानी रणनीतिकार एन्जेला ओर्टिगाराले सीएनएनसँग भनिन्, ‘एक पटक तपाईंले अवरोध हटाउनुभएपछि, नदीले आफ्नो बाटो आफैँ लिन्छ । यो एउटा यस्तो कार्य हो जसको परिणाम तत्काल देखिन्छ र दीर्घकालीन फाइदा हुन्छ ।’
नदीहरूको प्राकृतिक बहावलाई पुनः जोड्न कार्यरत छ वटा संस्थाहरूको सञ्जाल ‘ड्याम रिमुभल युरोप’को पछिल्लो वार्षिक प्रतिवेदन अनुसार, सन् २०२५ मा २१ वटा देशहरूमा रेकर्ड सङ्ख्यामा ६०३ वटा अवरोधहरू हटाइए । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यी अवरोधहरू हटाउनाले महाद्वीपभरि ३,७४० किलोमिटर (२,३२४ माइल) भन्दा बढी नदीहरूलाई पुनः जोड्न मद्दत पुर्यायो । यो कार्य सन् २०३० सम्ममा २५,००० किलोमिटर (१५,५३४ माइल) मुक्त–बहाव भएका नदीहरू पुनर्जीवित गर्ने युरोपेली युनियनको लक्ष्यसँग जोडिएको छ ।
गत हप्ता सार्वजनिक गरिएको प्रतिवेदन अनुसार, सन् २०२५ मा हटाइएका अवरोधहरूको सङ्ख्याले सन् २०२४ को अघिल्लो रेकर्डलाई ११% ले उछिनेको छ । सन् २०२५ मा हटाइएका अवरोधहरूको सङ्ख्या सन् २०२० मा गरिएको पहिलो गणनाको तुलनामा ६ गुणा बढी थियो ।
यी तथ्याङ्कहरूले नदीको पुनरुत्थान कार्यलाई व्यापक रूपमा अपनाइँदै गएको सङ्केत गर्छन् । साथै, यसले जलवायुको चरम संकटको यस युगमा नदीहरूले कसरी काम गर्छन् भन्नेबारे व्यापक रूपमा भइरहेको पुनर्विचारलाई पनि झल्काउँछ । जसलाई कुनै समय ‘प्रगति’ मानिन्थ्यो, त्यसलाई अहिले बढ्दो वातावरणीय दायित्व वा बोझका रूपमा हेर्न थालिएको छ ।
दक्षिण–पूर्वी फिनल्याण्डको हिटलान्जोकी नदीमा रहेको कान्गासकोस्की जलविद्युत बाँधलाई नदीको पूर्ण प्राकृतिक बहाव पुनर्जीवित गर्ने परियोजनाको एक अंशका रूपमा भत्काइयो । हिटलान्जोकी नदीको पारिस्थितिकीय महत्त्व धेरै उच्च छ, किनकि यो फिनल्याण्डमा रहेको ताजापानीमा मात्र पाइने अन्तिम माछा सालमानको प्राकृतिक रूपमा वंशवृद्धि गर्ने वासस्थान हो ।

खण्डित नदीहरू
‘एडप्टिभ म्यानेजमेन्ट अफ ब्यारियर्स इन युरोपियन रिभर्स’ (एम्बर) अनुसन्धान परियोजनाका अनुसार युरोपका नदीहरूमा बाँध, वेयर्स, कल्भर्ट र ढोकाहरूसहित अनुमानित १२ लाख अवरोधहरू छन्, जसले नदीहरूलाई खण्डित बनाएका छन् । यो महाद्वीपमा नदीको बहाव र निरन्तरताबारे गरिएको अहिलेसम्मकै सबैभन्दा व्यापक अध्ययनमध्ये एक हो । यीमध्ये धेरैजसो संरचनाहरू दशकौँ अघि जलविद्युत, जलयातायात वा कृषिका लागि बनाइएका थिए, तर अहिले हजारौँ संरचनाहरू काम नलाग्ने अवस्थामा छन् ।
वैज्ञानिक र वातावरणीय समूहहरूका अनुसार यसका परिणामहरू दूरगामी हुन सक्छन् । ‘जब नदीमा बाँध बनाइन्छ, त्यसको च्यानल (बहाव क्षेत्र) (जुन कुनै समय किनारका वनस्पतिद्वारा सुरक्षित हुन्थ्यो) घामको सीधा सम्पर्कमा रहने स्थिर पानीको पोखरी वा जलाशयमा परिणत हुन्छ । यसले पानीको तापक्रम उल्लेख्य रूपमा बढाउँछ,’ युरोपियन ओपन रिभर्स प्रोग्रामका वरिष्ठ अनुदान प्रबन्धक पाओ फर्नान्डेज–गारिडोले भने । यो संस्था साना बाँध र नदीका अवरोधहरू हटाई प्राकृतिक नदी पर्यावरण पुनर्जीवित गर्न सहयोग गर्ने युरोपव्यापी कोष अभियान हो ।
जलाशयमा रहेको ठूलो परिमाणको पानी वाष्पीकरणका कारण नष्ट हुन सक्छ । फर्नान्डेज–गारिडोले सीएनएनलाई बताए अनुसार, जलाशयहरूमा थुनिएका जैविक पदार्थहरू समयक्रमसँगै जम्मा हुन्छन् र सड्छन्, जसले गर्दा मिथेन ग्यास उत्सर्जन हुन्छ, जुन पृथ्वीलाई न्यानो बनाउने एक शक्तिशाली हरितगृह ग्यास हो र यसले विश्वव्यापी तापक्रम वृद्धिमा ठूलो योगदान पुर्याउँछ ।
फ्रान्सको नर्मन्डीमा रहेको भेजिन बाँध सन् २०२० मा सेलुन नदीको पारिस्थितिक प्रणाली पुनर्जीवित गर्न भत्काइनुअघि ३६ मिटर अग्लो र २७८ मिटर चौडा थियो । फ्रान्समा भेजिन बाँध हटाउने कार्यलाई युरोपकै सबैभन्दा ठूलो बाँध हटाउने प्रयास मानिएको थियो ।
युरोपियन इकोलोजिकल एजेन्सीका अनुसार खण्डित पारिस्थितिक प्रणालीहरू बढ्दो बाढी, खडेरी र जलवायु चरम सीमाको सामना गर्न निकै कम सक्षम हुन्छन् । विगत एक दशकमा यस महाद्वीपमा भएका १० वटा प्राकृतिक प्रकोपहरू मध्ये ९ वटा पानीसँग सम्बन्धित थिए ।
‘हामीले विगत एक सहस्राब्दीमा पानी निकास, कङ्क्रिटकरण र क्षयीकरणका कारण हाम्रा करिब ८०% सिमसार क्षेत्रहरू गुमाएका छौँ,’ एजेन्सीले सीएनएनलाई भन्यो । ‘सिमसार क्षेत्रहरूले प्राकृतिक स्पन्ज जस्तै काम गरेर यी जोखिमहरू कम गर्न मद्दत गर्छन्; तिनीहरूले बाढीको बेला पानी सोस्छन् र खडेरीको बेला बिस्तारै छोड्छन् ।’
‘ड्याम रिमुभल युरोप’ ले नदीहरूको खण्डीकरण युरोपमा ताजा पानीको जैविक विविधता घट्नुको एक प्रमुख कारक भएको बताएको छ । हालैको युरोपेली आयोगको मूल्याङ्कनलाई उद्धृत गर्दै उसले जनाए अनुसार, महाद्वीपका ताजा पानीमा पाइने माछाका प्रजातिहरूमध्ये ४२% भन्दा बढी सङ्कटमा छन्, जबकि झन्डै दुई तिहाइ प्रजातिहरू सङ्कटोन्मुख अवस्थामा छन् वा त्यसको नजिक पुगिसकेका छन् ।
एटल्यान्टिक सालमन र युरोपेली इल जस्ता प्रजातिहरू, र केही ट्राउट माछाहरू प्रजननका लागि आवश्यक पर्ने नदीको माथिल्लो भागको वासस्थानमा पुग्नबाट रोकिन्छन् वा ढिलो हुन्छन् । यसले तिनीहरूको सङ्ख्या घट्न जान्छ वा कतिपय अवस्थामा स्थानीय रूपमै ती प्रजाति लोप हुन पुग्छन् ।
माछाहरू आवतजावत गर्नका लागि ‘फिस पास’ (जलविशेष मार्ग) बनाइएका ठाउँहरूमा पनि तिनको प्रभावकारिता फरक–फरक हुन्छ । तिनीहरू प्रायः कम पौडन सक्ने माछाहरूका लागि उपयुक्त हुँदैनन्, जसले गर्दा नदीको पारिस्थितिक प्रणालीका महत्त्वपूर्ण भागहरू आंशिक रूपमा खण्डित नै रहन्छन् ।
यसको प्रभाव माछामा मात्र सीमित छैन । नदीको निरन्तरताले कीरा फट्याङ्ग्रादेखि चराचुरुङ्गी र स्तनधारी जनावरहरूसम्मको समग्र जल–पारिस्थितिक प्रणालीलाई टेवा पुर्याउँछ । जब नदीमा गेग्रानको बहाव रोकिन्छ, नदीको सतह समतल र कमजोर बन्न सक्छ, जुन माछाले फुल पार्नका लागि उपयुक्त हुँदैन । साथै, पानीको परिवर्तित तापक्रम र बहावले वासस्थानको विविधतालाई कम गर्छ ।
कुरुनकोस्की जलविद्युत बाँध भत्काएसँगै फिनल्याण्डको टोर्सान्जोकी नदीमा रहेको अन्तिम अवरोध हटाइएको छ । यसले हिटलान्जोकीको यस सहायक नदीमा माछा र वन्यजन्तुहरूको निर्बाध आवागमनको बाटो खोलेको छ ।
युरोपको पुरानो हुँदै गएको पानीको पूर्वाधारका बारेमा पनि चिन्ताहरू बढ्दै गएका छन् । धेरै काम नलाग्ने अवरोधहरूको राम्रोसँग मर्मतसम्भार गरिएको छैन र तिनीहरू जीर्ण हुँदै जाँदा, विशेष गरी खराब मौसमका बेला, सुरक्षाका लागि जोखिम बन्न सक्छन् ।
‘नदीमा अवरोधहरू निर्माण गर्दा सुरक्षा र वातावरणीय समस्याहरूको लामो सूची खडा हुन्छ,’ फर्नान्डेज–गारिडोले भने । ‘प्रकृतिको विरुद्धमा जानुभन्दा प्रकृतिसँग मिलेर काम गर्नु सधैँ सुरक्षित र बढी किफायती हुन्छ ।’
नदी पुनरुत्थानको यो बढ्दो लहरलाई अहिले युरोपेली सङ्घको प्रकृति पुनरुत्थान नीति मार्फत पनि बल पुगिरहेको छ ।
यद्यपि, यो नीतिले केही किसान समूहहरू र नीति निर्माताहरूबाट आलोचना पनि खेप्नुपरेको छ, जो भूमि प्रयोग र ग्रामीण जीविकोपार्जनमा पर्न सक्ने सम्भावित प्रभावहरूबारे चिन्तित छन् । सन् २०२४ मा लागू भएको युरोपेली सङ्घको ‘नेचर रेस्टोरेसन रेगुलेसन’ले सन् २०३० सम्ममा युरोपेली सङ्घको कम्तीमा २०% जमिन र समुद्री क्षेत्र पुनर्जीवित गर्ने बाध्यकारी लक्ष्यहरू निर्धारण गरेको छ, जसमा कम्तीमा २५,००० किमी नदीहरूलाई मुक्त–बहावको अवस्थामा फर्काउने समावेश छ । यसको उद्देश्य सन् २०५० सम्ममा पुनरुत्थान आवश्यक पर्ने लगभग सबै पारिस्थितिक प्रणालीहरूलाई पुरानै अवस्थामा फर्काउनु हो । यो कानुनले युरोपेली सङ्घको इतिहासमा पहिलो पटक नदीको निरन्तरता र अवरोध हटाउने कार्यलाई कानुनी रूप दिएको छ ।
‘यो नियममा वास्तविक परिवर्तन ल्याउन सक्ने क्षमता छ । यो बाँकी रहेको कुरालाई बचाउने मात्र होइन। यो त प्रकृतिलाई फिर्ता ल्याउने र हाम्रा नदीहरूलाई पुनर्जीवित गर्ने कुरा हो,’ युरोपियन इकोलोजिकल एजेन्सीले भन्यो ।
पुनर्जीवित नदीहरू
तर, बाँध हटाउनु कङ्क्रिट भत्काउनु जत्तिको सजिलो भने हुदैँन । परियोजनाहरू सम्पन्न हुन वातावरणीय मूल्याङ्कन, इन्जिनियरिङ अध्ययन, र बाँध मालिकहरू तथा स्थानीय अधिकारीहरूसँगको वार्ताका लागि वर्षौँ लाग्न सक्छ । बाँध भत्काएपछि गेग्रान को व्यवस्थापन सावधानीपूर्वक गरिनुपर्छ, नदीका किनारहरूलाई स्थिर बनाउनुपर्छ र पारिस्थितिक प्रणालीको निगरानी गरिनुपर्छ ।
तर एक पटक अवरोधहरू हटाइएपछि, परिणाम उल्लेखनीय रूपमा छिटो देखिन सक्छ ।
सन् २०२४ मा फिनल्याण्डको होल्स्टेनकोस्कीमा बाँध हटाउने र द्रुत पुनरुत्थान गर्ने कार्यको उद्देश्य माछाको बसाइँसराइ मार्गलाई ४३ किलोमिटरसम्म खोल्नु र एनेरियोकी नदीको पारिस्थितिकीय अवस्था सुधार गर्नु थियो । फिनल्याण्डको होल्स्टेनकोस्कीमा गरिएको पुनरुत्थान कार्यमा पुरानो बाँधको माथिल्लो भाग खन्ने, ढुङ्गाहरूद्वारा नदीका किनारहरू स्थिर बनाउने, प्राकृतिक छहरा वा द्रुत बहावको पुनर्निर्माण गर्ने, र पानीको बहाव सुधार गर्न तथा पारिस्थितिकीय सुधारलाई टेवा पुर्याउन झन्डै १,००० रूखहरू रोप्ने कार्य समावेश थियो ।
फिनल्याण्डमा, सन् २०२१ र २०२३ को बीचमा हिटलान्जोकी नदीमा रहेका तीनवटा जलविद्युत बाँधहरू हटाउँदा गम्भीर रूपमा सङ्कटग्रस्त ताजापानीमा बस्ने सालमन माछाहरूको बसाइँसराइ मार्गहरू पुनः खुले । यसले सन् १९०० को दशकको सुरुदेखि थुनिएको तिनीहरूको परम्परागत प्रजनन स्थलसम्मको पहुँच पुर्यायो । सालमन माछाहरू बाँध हटाइएको पहिलो बसाइँसराइको मौसममै नदीको त्यस भागमा फर्किए ।
अझ पूर्वतर्फ, अब फिनल्याण्डको भुओक्सी नदी किनारमा रहेको पालोक्की जलविद्युत बाँधतर्फ ध्यान केन्द्रित भइरहेको छ, जहाँ अर्को ठूलो खण्डित जलाधार क्षेत्रको बहाव पुनः जोड्ने योजनाहरू भइरहेका छन् ।
‘जब यो परियोजना लागू हुनेछ, यो ओपन रिभर्स प्रोग्रामले सहयोग गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हुनेछ,’ फर्नान्डेज–गारिडोले भने । ‘यो बाँध हटाउनाले १,५२३ किलोमिटर (९४६ माइल) नदी स्वतन्त्र हुनेछ ।’
युरोपका अन्य ठाउँहरूमा पनि यस्तै पुनरुत्थानका प्रयासहरू तीव्र भइरहेका छन् ।
फ्रान्समा, सन् १९२० र १९३० को दशकदेखि सञ्चालनमा रहेका सेलुन नदीका भेजिन (सन् २०२० मा) र ला रोश–क्वि–बोइत (सन् २०२२ मा) बाँधहरू हटाउँदा झन्डै नदीको ९० किलोमिटर (५६ माइल) क्षेत्र मुक्त वा पुनर्जीवित भयो । यो युरोपमा हालसम्म सञ्चालन गरिएको सबैभन्दा ठूलो बाँध हटाउने परियोजनाहरूमध्ये एक थियो ।
इङ्गल्याण्डको लेक डिस्ट्रिक्टमा, केन्ट नदीमा रहेको बोवस्टन वेइरलाई सन् २०२२ मा भत्काउँदा नदीको प्राकृतिक बहाव फर्काउन मद्दत पुग्यो, जसले बसाइँ सर्ने माछाहरू र वरपरको पारिस्थितिक प्रणालीको अवस्था सुधार गर्यो ।

बेल्जियममा, एनलियर जङ्गलमा कल्भर्टहरू हटाउँदा साना सहायक नदीहरू पुनः जोडिएका छन्, जसले स्थानीय जैविक विविधतामा महत्त्वपूर्ण भूमिका खेल्छन् । स्पेन, डेनमार्क, स्वीडेन, जर्मनी र एस्टोनिया सबैले हालका वर्षहरूमा अवरोध हटाउने परियोजनाहरू सञ्चालन गरेका छन्, यद्यपि यी प्रयासहरूको दायरा देशहरू अनुसार निकै फरक छ ।
सन् २०२५ मा, स्वीडेनले सबैभन्दा बढी १७३ वटा अवरोधहरू हटायो, त्यसपछि फिनल्याण्डले १४३ र स्पेनले १०९ वटा अवरोधहरू हटाए ।
दक्षिणी र दक्षिण–पूर्वी युरोपका देशहरू, जस्तै स्लोभाकिया, क्रोएसिया, बोस्निया र हर्जगोभिना, ग्रीस र युद्धग्रस्त युक्रेनले पनि हालका वर्षहरूमा अवरोधहरू हटाउने कार्य गरेका छन् । संयुक्त राज्य अमेरिकामा, ठूला बाँधहरू हटाउँदा अवरोधहरू हटेपछि नदीहरू कति चाँडो पुनर्जीवित हुन सक्छन् भन्ने कुरा प्रमाणित भएको छ ।
क्यालिफोर्नियाको क्लामाथ नदीमा, अमेरिकी इतिहासकै सबैभन्दा ठूलो बाँध हटाउने परियोजना सन् २०२४ मा सम्पन्न भयो, जसले बसाइँ सर्ने माछाहरूका लागि सयौँ माइलको वासस्थान पुनः खोलिदियो ।
वासिङ्टनको एल्व्हा नदीमा, पहिलेका बाँधहरू हटाउँदा गेग्रानको बहाव पुनः सुरु भयो र एक शताब्दीभन्दा बढीको अवरोधपछि माछा र वनस्पतिहरूको पुनरागमन भयो । युरोपमा, धेरैजसो अवरोध हटाउने कार्यमा अझै पनि साना संरचनाहरू (साना वेयर्स, कल्भर्ट र पुराना जलविद्युत अवरोधहरू) सामेल छन् । तर विशेषज्ञहरू भन्छन् कि तिनीहरूको सामूहिक प्रभाव बढ्दै गइरहेको छ ।
‘युरोपमा हाम्रा १० लाखभन्दा बढी अवरोधहरू छन्,’ ओर्टिगाराले भनिन् । ‘प्रत्येक वर्ष केही सय हटाउनु एउटा सुरुवात हो, तर यो पर्याप्त छैन ।’
विज्ञहरूका अनुसार सफलता समग्र नदीको क्षेत्र र जलाधार क्षेत्रहरूको पुनरुत्थानमा, स्थानीय समुदायहरूसँग मिलेर काम गर्नमा, र एक पटक नदी जोडिएपछि त्यसलाई समयक्रममा कायम राखिन्छ भन्ने कुरा सुनिश्चित गर्नमा निर्भर हुनेछ । ‘अहिलेको वास्तविक चुनौती यसको कार्यान्वयन हो, यसलाई रणनीतिक रूपमा र ठूलो स्तरमा गर्नु हो,’ युरोपियन इकोलोजी एजेन्सीले भनेको छ ।
‘जब नदी जीवित हुन्छ, यसको एउटा आफ्नै आवाज हुन्छ,’ ओर्टिगाराले भनिन् । ‘तपाईं यसलाई ढुङ्गाहरूबाट तल बगेको सुन्नुहुन्छ । तपाईं यसको वरपर वनस्पतिहरू देख्नुहुन्छ । यो नै जीवनको बहाव हो ।’ युरोपभरि, त्यो आवाज अब बिस्तारै फर्किन थालेको छ ।




















