रासायनिक ट्याङ्की विस्फोट : वासिङ्टनमा मृतकको सङ्ख्या बढ्ने आशङ्का


वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टन राज्यस्थित एक कागज उद्योगमा भएको घातक रासायनिक ट्याङ्की विस्फोटपछि हराइरहेका ९ जनाको खोजी कार्य पुनः सुरु गरिएको छ । अधिकारीहरूले उनीहरू मृत भएको आशङ्का गरेका छन् ।
मङ्गलवार बिहान निप्पोन डायनावेभ प्याकेजिङ कम्पनीको लङभ्यूस्थित कारखानामा ९ लाख ग्यालन क्षमताको रासायनिक ट्याङ्की फुट्दा कम्तीमा दुई जनाको मृत्यु पुष्टि भएको थियो भने अन्य ८ जना घाइते भएका थिए ।
प्रहरी र दमकल अधिकारीहरूका अनुसार ट्याङ्की अहिले स्थिर अवस्थामा पुगेको छ र थप विस्फोटको जोखिम कम भएकाले खोजी अभियान पुनः सुरु गरिएको हो । लङभ्यू फायर विभागका अधिकारी म्याट आमोसका अनुसार अब अभियान सुस्तरी, व्यवस्थित र सावधानीपूर्वक अघि बढाइनेछ ।
हराइरहेका व्यक्तिहरू भेटिएपछि शव परीक्षणका लागि सम्बन्धित कार्यालयमा पठाइनेछ । घटनामा ज्यान गुमाउनेमध्ये गिल्बर्ट बर्नाल नामका एक व्यक्तिको परिवारले पहिचान गरेको छ । उनकी छोरी जियोभाना बर्नाल–फर्गुसनका अनुसार अस्पतालमा रहेको शव फोटोमार्फत परिवारले पहिचान गरेको हो, यद्यपि औपचारिक पुष्टि अझै बाँकी छ ।






















