ठूलो परिमाणमा सुन र नगदसहित पक्राउ परे सीआईएका पूर्व वरिष्ठ अधिकारी

रासस
२०८३ जेष्ठ १४ | मध्यान्ह ०२:०२ बजे

भर्जिनिया । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका पूर्व वरिष्ठ अधिकारी डेभिड रस ठूलो परिमाणमा सुन, नगद र महँगा घडीसहित पक्राउ परेका छन्।अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले भर्जिनियास्थित उनको निवासमा छापा मार्दा ४ करोड डलरभन्दा बढी मूल्यका ३०३ वटा सुनका बिस्कुट बरामद गरेको जनाएको छ। प्रत्येक बिस्कुट करिब एक किलो तौलको रहेको बताइएको छ।
सीआईएले उक्त सम्पत्तिको हिसाब फेला पार्न नसकेपछि आन्तरिक अनुसन्धान गरिएको थियो। त्यसपछि सीआईएका निर्देशक जोन र्याटक्लिफको सिफारिसमा एफबीआईले मे १९ मा रसलाई पक्राउ गरेको हो।
रसविरुद्ध सार्वजनिक धनको आपराधिक चोरी, झूटो विवरण पेश गरी सरकारी जागिर लिएको तथा नक्कली सैन्य बिदा प्रयोग गरेर भत्ता बुझेको आरोप लागेको छ। हाल उनी हिरासतमा रहेका छन् भने यसै साता अदालतमा सुनुवाइ हुने बताइएको छ।






















