प्रबास

किन दक्षिणी लेबनानको नाबातियेहमाथि केन्द्रित छ इजरायली आक्रमण ?

एजेन्सी
२०८३ जेष्ठ १४ | बिहान ०९:०२ बजे

लेबनान । दक्षिणी लेबनानस्थित प्रमुख सहर नाबातियेहमाथि इजरायलले लगातार हवाई तथा तोप आक्रमण तीव्र बनाएपछि त्यहाँको मानवीय संकट गम्भीर बनेको छ । इजरायली सेनाले मंगलबार नाबाटियेहका बासिन्दालाई तत्काल क्षेत्र खाली गर्न आदेश दिएको थियो । त्यसयता आसपासका गाउँ र सहरमा निरन्तर गोलाबारी भइरहेको छ ।

इजरायलले आफ्नो आक्रमण हिजबुल्लाहका सैन्य संरचनामाथि लक्षित भएको दाबी गरे पनि स्थानीय विश्लेषकहरूका अनुसार नाबातियेहमाथिको आक्रमण केवल सैन्य रणनीतिमा सीमित छैन । यो दक्षिणी लेबनानको राजनीतिक, आर्थिक र प्रतीकात्मक केन्द्रमाथिको दबाबका रूपमा पनि हेरिएको छ ।

नाबातियेह लितानी नदीमाथि अवस्थित दक्षिणी लेबनानको ठूलो सहर हो । यो इजरायली सीमाबाट करिब ११ किलोमिटर उत्तरमा पर्छ । विगतका युद्धविराम तथा अन्तर्राष्ट्रिय सम्झौतामा लितानी नदीलाई महत्वपूर्ण सीमारेखाका रूपमा लिइएको थियो, जसअनुसार हिजबुल्लाहलाई नदीको उत्तरतर्फ सीमित गर्नुपर्ने उल्लेख गरिएको थियो ।

विश्लेषक जाद दिलातीका अनुसार इजरायल अहिले नाबाटियेहलाई आफूले घोषणा गरेको ‘यलो लाइन’ भित्र पार्न खोजिरहेको छ । इजरायलले सीमाक्षेत्रमा बनाएको करिब १० किलोमिटर चौडाइको ‘बफर जोन’ को उत्तरी सीमालाई ‘यलो लाइन’ नाम दिएको छ ।

नाबातियेहलाई लेबनानमा ‘प्रतिरोधको प्रतीक’ का रूपमा पनि हेरिन्छ । सन् १९८३ मा धार्मिक समारोहका क्रममा इजरायली सैनिक र स्थानीय बासिन्दाबीच भएको भिडन्तलाई धेरैले सशस्त्र प्रतिरोध आन्दोलनको सुरुआती मोडका रूपमा सम्झिन्छन् । त्यसबेला दक्षिणी लेबनान इजरायली कब्जामा थियो । सन् २००० मा इजरायली सेना त्यहाँबाट फिर्ता भएको थियो ।

स्थानीय जनसंख्याको अधिकांश हिस्सा शिया मुस्लिम समुदायको भएकाले पनि नाबातियेह रणनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । हिजबुल्लाहको मुख्य सामाजिक आधार यही समुदाय भएकाले इजरायलले केवल लडाकु समूहलाई होइन, त्यसको सामाजिक–आर्थिक संरचनालाई समेत कमजोर बनाउन खोजेको आरोप लाग्दै आएको छ ।

विश्लेषक मोहम्मद बाज्जीका अनुसार नाबाटियेह दक्षिणी लेबनानको प्रमुख आर्थिक केन्द्रमध्ये एक भएकाले यसको विनाशले सम्पूर्ण शिया समुदायमाथि दबाब सिर्जना गर्ने उद्देश्य राखेको देखिन्छ । ‘दैनिक जीवन असम्भव बनाएर हिजबुल्लाहलाई युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीति देखिन्छ,’ उनले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ उद्देश्यसहित सैन्य कारबाही विस्तार गरिएको बताएका छन् । उनले इजरायली सेना ‘यलो लाइन’ भन्दा बाहिरसम्म पुगेको दाबी गरेका छन् ।

यस घोषणापछि बेरुतको दक्षिणी उपनगरबाट समेत मानिसहरू पलायन हुन थालेका छन् । अप्रिल १६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि धेरै विस्थापित घर फर्किन थालेका थिए । तर पछिल्लो आक्रमणले पुनः ठूलो विस्थापन निम्त्याएको छ ।

लेबनानको नागरिक सुरक्षा निकायका अनुसार बुधबार नाबाटियेहमा क्षतिग्रस्त भवनभित्र फसेका कम्तीमा १५ सर्वसाधारणलाई उद्धार गरिएको थियो । स्थानीय सञ्चारमाध्यमले इजरायली आक्रमणमा कब्रिस्तानसम्म निशाना बनाइएको बताएका छन् ।

हिजबुल्लाहले पनि नाबाटियेह जिल्लाको जावतार अल–शर्कियाह क्षेत्रमा आफ्ना लडाकुहरूले इजरायली सेनासँग ‘नजिकबाट भिडन्त’ गरेको जनाएको छ । संगठनका नेता नाइम क्वासेम ले इजरायलसँग हुने प्रत्यक्ष वार्ताको विरोध गर्दै संघर्ष जारी रहने संकेत दिएका छन् ।

लेबनानी राष्ट्रपति जोसेफ अउन ले ईद अल–अधाको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै इजरायली आक्रमणबिच राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । लेबनान सरकारले आगामी जुन २ र ३ मा इजरायलसँग प्रत्यक्ष वार्ताको तयारी गरिरहेको छ ।

सन् १९७८, १९८२, १९९३, १९९६, २००६ र पछिल्ला वर्षहरूमा समेत नाबातियेह पटक–पटक इजरायली आक्रमणको निशानामा पर्दै आएको छ । सन् २०२४ को युद्धमा त्यहाँको ऐतिहासिक बजार ध्वस्त भएको थियो ।

हाल दक्षिणी लेबनानबाट १२ लाखभन्दा बढी मानिस विस्थापित भएको अनुमान छ । नाबातियेहका धेरै बासिन्दाले आर्थिक अभाव र विगतको विस्थापनको पीडाका कारण घर नछाड्ने निर्णय गरेका थिए । तर पछिल्लो तीव्र बमबारी र खाली गर्ने आदेशपछि सहर लगभग सुनसान बनेको स्थानीय स्रोतहरूले बताएका छन् ।

कमेन्टहरु