समाज

छैटौं दोलखा चेसको उपाधि रसियन जिएमले जिते 

राजु ताम्राकार
२०८३ जेष्ठ २ | मध्यान्ह ०४:०२ बजे

 जेष्ठ २, दोलखा । छैटौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस स्पर्धाका उच्च वरियता खेलाडी किरियाकोभ पेटले अपराजित रहँदै उपाधि आफ्नो नाम गरेका छन्।  रसिया, भारत र नेपालका तिन जना खेलाडीहरुले समान ७.५ अंक जोडे पनि प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गरेका छन्। रसियन २४७३ रेटेड जिएम किरियाकोभले नौ चरणको क्लासिकल खेलमा ६ जीत ३ बराबरीको खेल प्रदर्शन गर्दै ७.५ अंकका साथ उपाधि जितेका छन्।

रसियन ग्रायण्ड मास्टरले ६ दिनको नेपाल बसाइँ सुखद बनाउदै प्रोग्रेसिभ ५४.५ प्वाइन्ट जोडेर नगद रु. १ लाख पुरस्कार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। चरिकोटको सीम्पानी सभाहलमा सम्पन्न चेस खेलमा दोस्रो वरियताका २३२४ रेटेड भारतीय खेलाडी अर्पण दासले प्रोग्रेसिभ ५३.५ प्वाइन्ट जोडेर द्वितीय स्थान प्राप्त गरेका छन्। अर्पणले नगद रु. ६० हजार प्राप्त गरे। प्रतिस्पर्धामा नेपाली २०४० रेटेड खेलाडी रिसोन थापाले प्रोग्रेसिभ ५१.५ प्वाइन्ट जोडेर तृतीय स्थान सुरक्षित गरेका छन्।

रिसोनले नगद रु. ४० हजार जिते। यसैगरी तिन जना खेलाडीले समान ७ अंक जोडेर प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो देखि छैठौं स्थान प्राप्त गरेका छन्। जसमा नेपाली युवा सिएम पुरुषोत्तम सिलवालले ५१ प्रोग्रेसिभ प्वाइन्ट बनाउदै चौथो स्थानको नगद रु. २५ हजार पुरस्कार जितेका छन्।  यस्तै भारतका अंकित दासले ४९.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर पाँचौ स्थानको नगद रु. १५ हजार , नेपालका धिरेन राई छैठौं हुँदै रु. १० हजार पुरस्कार जितेका छन्।

प्रतिस्पर्धामा भारतका राहुल गुरुङ सातौं , थेन्दुप तामाङ आठौं, विनायक सिंह यादव तथा नेपालका प्रसान्त गुरुङ  दशौं स्थान प्राप्त गरेका छन्। दोलखा चेस होम्सको आयोजनामा सञ्चालन भएको चेस प्रतिस्पर्धामा सात राष्ट्रका १४० जना अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी जनाएका थिए। आयोजकले विजयी खेलाडीहरुलाई कूल नगद पुरस्कार रु. ५ लाख २ हजार वितरण गरिएको छ। दोलखा चेस होमका अध्यक्ष एवं कार्यक्रमका संयोजक गोविन्द मान श्रेष्ठको सभापतित्वमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि दोलखा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष आशिष् घिसिङ, विशेष अतिथि नेपाल बुद्धिचाल महासंघका, अतिथि महासंघका प्रवक्ता राजु ताम्राकार लगायतले पुरस्कार प्रदान गरेका छन्।

कमेन्टहरु