बिश्व

अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा, ट्रम्पले भने, ‘यो नाजुक अवस्थामा छ’

एजेन्सी
२०८३ बैशाख २९ | बिहान ११:०१ बजे

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच महिना दिनदेखि जारी युद्धविराम ठुलो ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन्।ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले युद्धविराम कायम रहे पनि यो ‘अत्यन्तै कमजोर’ अवस्थामा पुगेको टिप्पणी गरेका हुन्। 

इरानले आइतबार युद्ध अन्त्य गर्न र स्ट्रेट अफ होर्मुज खुला गर्नका लागि पठाएको १४ बुँदे प्रति-प्रस्तावलाई ट्रम्पले ‘पूर्ण रूपमा अस्वीकार्य’ र ‘रद्दीको टुक्रा’ भन्दै खारेज गरिदिएका छन्। उनले इरानी नेताहरूलाई ‘अत्यन्तै अपमानजनक मानिस’ को संज्ञा दिँदै उनीहरूले बारम्बार आफ्नो कुरा फेर्ने गरेको आरोप लगाए

ट्रम्पको टिप्पणी लगत्तै इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै इरानी सशस्त्र बल कुनै पनि आक्रमणको जवाफ दिन र ‘पाठ सिकाउन’ तयार रहेको चेतावनी दिएका छन्। गालिबाफले इरानी जनताको अधिकारका लागि प्रस्तुत गरिएको प्रस्ताव स्वीकार गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अमेरिकाले जति ढिलाइ गर्छ, अमेरिकी करदाताहरूले त्यति नै बढी मूल्य चुकाउनुपर्ने बताए। 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानको प्रस्ताव ‘जिम्मेवार’ र ‘उदार’ रहेको दाबी गर्दै इरानले आफ्नो हित रक्षाका लागि आवश्यक पर्ने जुनसुकै कदम चाल्ने बताएका छन्।

इरानको अर्ध-सरकारी समाचार एजेन्सी तास्निमका अनुसार तेहरानको प्रस्तावमा सबै मोर्चामा तत्काल युद्ध अन्त्य हुनुपर्ने, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी हटाउनुपर्ने, थप आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्ने र युद्धको क्षतिको क्षतिपूर्ति पाउनुपर्ने माग राखिएको छ। साथै, स्ट्रेट अफ होर्मुजमा इरानी सार्वभौमसत्ता हुनुपर्नेमा पनि जोड दिइएको छ। 

यद्यपि, ट्रम्पले इरानले समृद्ध युरेनियम हटाउन दिने सम्झौताबाट पछि हटेको आरोप लगाएका छन् भने इरानी पक्षले आफ्नो प्रस्तावमा यस्तो कुनै कुरा उल्लेख नभएको जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इरानको युरेनियम भण्डार पूर्ण रूपमा हटाउनुपर्ने र आणविक केन्द्रहरू भत्काउनुपर्ने अडान राखेका छन्। इरानले स्ट्रेट अफ होर्मुज अवरुद्ध पारेका कारण विश्व बजारमा तेलको मूल्यमा वृद्धि भएको छ। अमेरिकाले इरानलाई आणविक संवर्धन रोक्न, प्रतिबन्धहरू हटाउन र जलमार्गमा स्वतन्त्र आवागमन पुनर्बहाली गर्न प्रस्ताव गरेको छ, जुन अन्तिम सम्झौतामा निर्भर हुने बताइएको छ।

कमेन्टहरु