दमौली–भरतपुर प्रसारण लाइन निर्माणका लागि रुख कटान अनुमति प्राप्त


दमौली (तनहुँ), वैशाख २६। तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो ।
कटान गरिएका रुखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब–डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कूल ९२.७३ हेक्टर वन क्षेत्र (चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर) प्रयोग गर्न तथा उक्त क्षेत्रमा रहेका नै हजार १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो ।
सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भू–संरक्षण विभागबीच सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौतापश्चात डिभिजन वन कार्यालय, आयोजना तथा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहहरूको समन्वय र रोहबरमा प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने रुखहरूको छपान कार्य अघि बढाइएको हो । तनहुँ जिल्लाअन्तर्गत पर्ने रुखहरूको छपान कार्य हाल जारी रहेको छ ।






















