समाज

मलेसिया अध्यागमन विभागद्वारा साइबरजायामा छापा, नेपाली सहित १०५ जना विदेशी नागरिक पक्राउ

रामजी प्रजापती
२०८३ बैशाख २६ | मध्यान्ह ०१:०१ बजे

मलेसिया अध्यागमन विभाग (JIM) ले विदेशी नागरिकको बाहुल्यता रहेका सेवा क्षेत्रमा निगरानी तथा कारबाहीलाई तीव्र बनाएको छ। अवैधानिक गतिविधि नियन्त्रण तथा देशको कानुनी सार्वभौमिकता कायम राख्ने उद्देश्यसहित ६ मे २०२६ राति ९ बजे साइबरजायास्थित विदेशी नागरिकको केन्द्र मानिएको क्षेत्रमा संयुक्त अपरेशन सञ्चालन गरिएको हो।

अध्यागमन विभागका ८३ जना अधिकारी तथा घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालय (KPDN) का १५ अधिकारी सहभागी उक्त अपरेशन साइबरजायाको Menara Paragon क्षेत्रमा सञ्चालन गरिएको थियो। सार्वजनिक गुनासो र एक सातासम्म गरिएको गोप्य अनुसन्धानपछि उक्त स्थान विदेशी नागरिकको मुख्य केन्द्र भएको आशंकामा छापा मारिएको जनाइएको छ।

अपरेशनका क्रममा १६ वटा व्यापारिक प्रतिष्ठान, १०५ विदेशी नागरिक तथा ८९ स्थानीय नागरिकमाथि जाँच गरिएको थियो। जाँचपछि सुडान, भारत, पाकिस्तान, नेपाल, म्यानमार र इन्डोनेसियाका २६ देखि ३५ वर्ष उमेर समूहका १३ जना विदेशी नागरिकलाई अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियम १९६३ अन्तर्गत विभिन्न कसुरमा पक्राउ गरिएको छ। साथै अनुसन्धान सहयोगका लागि एक जना मलेसियाली नागरिकलाई ‘बोराङ २९’ साक्षी समन जारी गरिएको छ।

पक्राउ परेका सबै विदेशी नागरिकलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुत्रजायास्थित अध्यागमन हिरासत केन्द्रमा राखिएको छ। मलेसिया अध्यागमन विभागले अवैधानिक रूपमा बसोबास गर्ने, भिसा अवधि नाघेर बस्ने तथा पास दुरुपयोग गर्ने विदेशी नागरिकप्रति कुनै सम्झौता नगर्ने जनाएको छ। साथै अवैधानिक आप्रवासीलाई रोजगार दिने वा संरक्षण गर्ने पक्षविरुद्ध पनि कडा कारबाही गरिने चेतावनी दिएको छ।

कमेन्टहरु