प्रबास

बेलायतको स्थानीय चुनावमा लेबर पार्टीको पराजय, दबाबका बिच स्टारमरले राजीनामा नदिने घोषणा

एजेन्सी
२०८३ बैशाख २६ | मध्यान्ह ०१:०१ बजे

लण्डन । बेलायतमा सम्पन्न स्थानीय चुनावमा लेबर पार्टीले ठूलो धक्का व्यहोरेको छ। चुनावमा पार्टीले उल्लेख्य सिट गुमाएपछि चौतर्फी दबाब सिर्जना भए पनि प्रधानमन्त्री सर कियर स्टारमरले आफूले राजीनामा नदिने अडान व्यक्त गरेका छन् ।उनले अहिलेको अवस्थामा राजीनामा दिएर देशलाई थप अराजकतामा धकेल्न नचाहने स्पष्ट पारेका छन्। इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा आएको निराशाजनक नतिजाले स्टारमरमाथि नैतिक संकट उत्पन्न गराएको छ।

लेबर पार्टीकै कतिपय सांसदहरूले उनलाई बहिर्गमनको समयतालिका सार्वजनिक गर्न माग गरिरहेका छन् भने क्याबिनेटमा रहेका निकट सहयोगीहरूले भने हाललाई उनको बचाउ गरेका छन्।

यो निर्वाचनको नतिजाले बेलायतको राजनीतिमा वर्षौँदेखि कायम लेबर र कन्जरभेटिभ पार्टीको वर्चस्व अन्त्य हुने संकेत देखाएको छ। २७ वर्षदेखि शासन गरिरहेको वेल्समा लेबर पार्टीले सत्ता गुमाएको छ भने स्कटल्याण्डमा पनि एसएनपी सबैभन्दा ठूलो दलका रूपमा कायमै छ।

इंग्ल्याण्डमा भने रिफर्म यूकेले ऐतिहासिक जित निकाल्दै १४ सयभन्दा बढी सिट जितेको छ । परम्परागत रूपमा लेबर र कन्जरभेटिभको गढ मानिने क्षेत्रहरूमा समेत रिफर्म यूकेले कब्जा जमाएको छ।

बीबीसीको प्रक्षेपित राष्ट्रिय मत हिस्सा (पीएनएस) अनुसार रिफर्म यूके २६ प्रतिशत मतका साथ सबैभन्दा ठुलो दल बनेको छ भने १८ प्रतिशतसहित ग्रीन पार्टी दोस्रो र १७ प्रतिशतका साथ लेबर तथा कन्जरभेटिभ पार्टी तेस्रो स्थानमा खुम्चिएका छन्।

पार्टीभित्र र बाहिरबाट नेतृत्वको आलोचना भइरहँदा स्टारमरले शनिबारको गार्डियन पत्रिकामा लेख लेख्दै एकता निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदाताले दिएको सन्देशलाई गम्भीरतापूर्वक लिने तर यसको अर्थ पार्टीलाई दायाँ वा बायाँतिर मोड्नु नभएको तर्क गरेका छन्।

उनले अगाडि भनेका छन्, ‘हाम्रो उद्देश्य फराकिलो राजनीतिक आन्दोलनलाई एकताबद्ध गर्ने, आफ्ना मूल्यमान्यतामा दृढ रहने र जनताका मागलाई सम्बोधन गर्ने हो। हामी विभाजित हुनुभन्दा पनि एकताबद्ध हुन जरुरी छ।’

निर्वाचनको पूर्ण विवरण आउन बाँकी रहँदा लेबर पार्टीले इंग्ल्याण्डमा मात्रै ११ सयभन्दा बढी सिट गुमाइसकेको छ। वेल्समा प्लेड कम्री सबैभन्दा ठूलो पार्टी बनेको छ भने रिफर्म यूके प्रमुख विपक्षी दलका रूपमा उदाएको छ। स्कटल्याण्डमा एसएनपीले बहुमत प्राप्त गर्न नसके पनि ठूलो दलको हैसियत कायम राखेको छ, जहाँ लेबर पार्टी रिफर्म यूकेसँगै १७ सिटमा खुम्चिएर दोस्रो स्थानमा छ।

पार्टीको यो कमजोर प्रदर्शनले स्टारमरको नेतृत्वमाथि महिनौँदेखि उठिरहेको प्रश्नलाई थप बल पुर्‍याएको छ। आगामी सोमबार उनले निर्वाचनको नतिजाका विषयमा सम्बोधन गर्ने तयारी गरेका छन् भने स्वास्थ्य सचिव वेस स्ट्रिटिङले प्रधानमन्त्रीलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।

कमेन्टहरु