तनहुँमा सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै


तनहुँ । तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गर्ने र विवरण अद्यावधिक भएअनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको छ ।
जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरपरिवार मध्येको वास्तविक सुकुमवासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
यस्तै,वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्ने योजनासहित आवश्यक सुरक्षा प्रबन्धका लागि स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालयमा माग गर्नसक्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँगको समन्वयमा जग्गाको अतिक्रमण हटाउन आवश्यक सुरक्षाको प्रबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
प्रजिअ तिवारीले जिल्लास्थित विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाइने बताए । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा हटाउने कार्यका लागि सम्बन्धित निकायबाट गरिने कार्यका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट आमजनतालाई सुसूचित गराइने उनले बताए ।






















