बिश्व

गुगल, माइक्रोसफ्ट र एक्सएआईले सार्वजनिक नभएका एआई मोडेलहरू सरकारलाई जाँच्न दिने

एजेन्सी
२०८३ बैशाख २३ | मध्यान्ह ०६:०१ बजे

न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना हुन सक्ने साइबर सुरक्षा चुनौतीहरूलाई रोक्नका लागि विश्वका प्रतिष्ठित प्रविधि कम्पनीहरू गुगल, माइक्रोसफ्ट र एक्सएआई आफ्ना सार्वजनिक नभएका नयाँ एआई मोडेलहरू सरकारलाई हस्तान्तरण गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रिय मानक तथा प्रविधि संस्थान (एनआईएसटी) ले मंगलबार यस साझेदारीको बारेमा आधिकारिक घोषणा गरेको हो।

यो ठूलो निर्णय गत महिना एन्थ्रोपिक कम्पनीले विकास गरेको शक्तिशाली नयाँ एआई मोडेल ‘मिथोस बजारमा आएसँगै सुरु भएको बहसको परिणाम हो। मिथोसले साइबर सुरक्षामा पार्न सक्ने गम्भीर प्रभावबारे उत्पन्न चिन्ता उत्कर्षमा पुगेपछि ह्वाइट हाउसलाई एआई मोडेलहरूको औपचारिक समीक्षा प्रक्रिया सुरु गर्नेबारे सोच्न बाध्य बनाएको थियो।

नयाँ सम्झौता अनुसार अमेरिकी वाणिज्य मन्त्रालय मातहत रहेको सेन्टर फर एआई स्ट्यान्डर्ड्स एन्ड इनोभेसन (केसी) ले नयाँ एआई मोडेलहरू बजारमा सार्वजनिक हुनुअघि नै तिनको मुल्याङ्कन गर्नेछ। यस संस्थाले ती मोडेलहरूले राष्ट्रिय सुरक्षा र जनसुरक्षामा पार्न सक्ने सम्भावित प्रभावको विस्तृत अध्ययन गर्ने अधिकार पाएको छ। यसका साथै एआई मोडेलहरू बजारमा आइसकेपछि पनि यस केन्द्रले निरन्तर अनुसन्धान र परीक्षण जारी राख्नेछ। यस केन्द्रले हालसम्म ४० भन्दा बढी एआई मोडेलहरूको सफल मूल्यांकन गरिसकेको छ।

केसीका निर्देशक क्रिस फलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘फ्रन्टियर एआई र यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रभावहरू बुझ्नका लागि स्वतन्त्र र कडा वैज्ञानिक मापन आवश्यक छ। उद्योगहरूसँगको यो विस्तारित सहकार्यले हामीलाई यो महत्त्वपूर्ण घडीमा जनहितका लागि काम गर्ने दायरा बढाउन मद्दत गर्नेछ।’

एन्थ्रोपिक कम्पनीका अनुसार ‘मिथोस’साइबर सुरक्षाका मामिलामा अन्य विद्यमान मोडेलहरू भन्दा निकै अगाडि छ। यही कारणले गर्दा गत महिना विभिन्न देशका सरकार, बैंक र सेवाप्रदायक कम्पनीहरूमाझ यस प्रविधिलाई लिएर सुरक्षाको ठूलो चिन्ता पैदा भएको थियो। 

कम्पनीले पनि यो मोडेललाई तत्कालका लागि सार्वजनिक रूपमा उपलब्ध गराउनु सुरक्षित नहुने बताएको छ। हाल यसको पहुँच केवल स्वीकृत संस्थाका सीमित समूहलाई मात्र दिइएको छ भने कम्पनीले अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूलाई यसको क्षमताका बारेमा जानकारी गराइसकेको छ।

यसैगरी, अर्को ठूलो प्रविधि कम्पनी ओपनएआईले पनि एआईको माध्यमबाट हुन सक्ने सम्भावित सुरक्षा खतराहरूलाई पहिले नै रोक्ने उद्देश्यले आफ्ना सबैभन्दा उन्नत एआई मोडेलहरू सरकारका प्रमाणित निकायहरूलाई उपलब्ध गराइरहेको गत हप्ता स्पष्ट पारेको थियो।

जर्जटाउन युनिभर्सिटीको सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजीकी वरिष्ठ अनुसन्धान विश्लेषक जेसिका जीका अनुसार यस्तो सहकार्यले सरकारी निकाय केसीलाई एआई परीक्षणका लागि थप स्रोतसाधन उपलब्ध गराउनेछ। उनले भनिन्, ‘यी ठूला प्रविधि कम्पनीहरूसँग जस्तो पर्याप्त जनशक्ति, प्राविधिक कर्मचारी र कम्प्युटिङ क्षमता सरकारी निकायहरूसँग हुँदैन, जसले गर्दा उनीहरूलाई यी मोडेलहरूको कडा परीक्षण गर्न कठिन भइरहेको थियो।’

ह्वाइट हाउसले अहिले नयाँ एआई मोडेलहरूको सरकारी समीक्षा प्रक्रिया कस्तो बनाउने भन्नेबारे सल्लाह लिन विज्ञहरूको समूहसँग परामर्श गरिरहेको छ। यो कदम राष्ट्रपति ट्रम्प प्रशासनले एआई नियमनमा अहिलेसम्म अपनाउँदै आएको लचिलो नीतिभन्दा निकै फरक र कडा हुने विश्लेषण गरिएको छ। 

यद्यपि, ह्वाइट हाउसका प्रवक्ताले यस विषयमा टिप्पणी गर्दै सम्भावित कार्यकारी आदेशहरूबारे भइरहेका चर्चा केवल अनुमान मात्र भएको र आधिकारिक नीतिगत घोषणा राष्ट्रपतिबाटै सिधै आउने बताएका छन्।

माइक्रोसफ्टकी प्रमुख जिम्मेवार एआई अधिकारी नातासा क्राम्प्टनले कम्पनीले आफ्ना मोडेलहरूको नियमित परीक्षण गर्ने भए पनि केसीसँगको सहकार्यले थप प्राविधिक, वैज्ञानिक र राष्ट्रिय सुरक्षा सम्बन्धी विशेषज्ञता प्राप्त हुने विश्वास व्यक्त गरेकी छिन्। यस सम्झौताका विषयमा गुगलले थप टिप्पणी गर्न अस्वीकार गरेको छ भने एक्सएआईले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

कमेन्टहरु