११ दिनपछि दमौली बजारको फोहर उठ्यो


दमौली (तनहुँ), वैशाख २२। एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो ।
फोहर बिसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन सकेको थिएन । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अहिले तत्कालका लागि अस्थायी ठाउँ खोजेर फोहर बिसर्जन गर्न लागिएको जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “दमौली बजारमा लामो समयदेखि फोहर उठ्न नसक्दा दुर्गन्धित हुन थालेको छ । अहिले फोहर गाडेप तत्काल पुर्ने व्यवस्था मिलाएका छाँै ।”
उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी कार्य भइरहेको लम्सालले बताउनुभयो । नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिवी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रुपमा सरसफाइ कार्यका लागि प्रयोग गर्दै आएको छ ।
नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ ।






















