बिश्व

इरान युद्धको ५० दिन : ५० अर्ब डलरको तेल गुमायो विश्वले, आपूर्तिमा इतिहासकै ठूलो धक्का

एजेन्सी
२०८३ बैशाख ५ | बिहान ०९:०१ बजे

काठमाडौँ । इरान युद्ध सुरु भएको झन्डै ५० दिन पुग्न लाग्दा विश्व अर्थतन्त्रले ५० अर्ब अमेरिकी डलर बराबरको कच्चा तेल उत्पादन गुमाएको छ । विश्लेषकहरू र रोयटर्सको गणनाअनुसार यो संकटको पराकम्प आगामी महिनाहरूमा मात्र नभई वर्षौँसम्म महसुस गरिने देखिएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराक्चीले लेबनानमा भएको युद्धविराम सम्झौतापछि स्ट्रेट अफ होर्मुज खुला भएको घोषणा गरे पनि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको सम्झौता चाँडै हुने विश्वास व्यक्त गरे पनि क्षतिको खाडल भने निकै गहिरो देखिएको छ । केपलरको तथ्याङ्कअनुसार फेब्रुअरीको अन्त्यमा संकट सुरु भएदेखि हालसम्म विश्व बजारबाट ५० करोड ब्यारेलभन्दा बढी कच्चा तेल र कन्डन्सेट गायब भएको छ, जुन आधुनिक इतिहासकै सबैभन्दा ठुलो ऊर्जा आपूर्ति अवरोध हो ।

बजारबाट गायब भएको यो ५० करोड ब्यारेल तेलको परिमाण कति विशाल छ भन्ने कुरा विभिन्न तुलनाहरूबाट प्रस्ट हुन्छ । उड म्याकेन्जीका वरिष्ठ विश्लेषक इयान मोवाटका अनुसार यो परिमाण १० हप्तासम्मको विश्वव्यापी हवाई इन्धनको माग वा ११ दिनसम्म विश्वभरका सवारी साधन ठप्प पार्दा हुने खपत बराबर हो ।

यो परिमाणले अमेरिकाको झन्डै एक महिनाको वा सिङ्गो युरोपको एक महिना भन्दा बढीको तेलको माग धान्न सक्छ । त्यस्तै, अमेरिकी सेनाको ६ वर्षको इन्धन खपत वा विश्वव्यापी ढुवानी उद्योगलाई चार महिनासम्म चलाउन यो तेल पर्याप्त हुन्छ ।

युद्धका कारण खाडी मुलुकहरूले मात्रै मार्च महिनामा दैनिक ८० लाख ब्यारेल कच्चा तेलको उत्पादन गुमाएका छन् । यो उत्पादन विश्वका दुई ठूला तेल कम्पनी एक्सन मोबिल र सेभ्रोनको संयुक्त उत्पादन बराबर हो । केपलरको तथ्याङ्कले साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स लगायतका देशबाट हुने हवाई इन्धनको निर्यातमा पनि भारी गिरावट देखाएको छ । फेब्रुअरीमा १ करोड ९६ लाख ब्यारेल रहेको निर्यात मार्च र अप्रिल महिनामा खुम्चिएर जम्मा ४१ लाख ब्यारेलमा सीमित भएको छ ।

केपलरका वरिष्ठ विश्लेषक जोहानेस राउबलका अनुसार द्वन्द्व सुरु भएदेखि तेलको औसत मूल्य प्रतिब्यारेल १०० डलर आसपास रहेकाले गुमेको यो परिमाणको मूल्य करिब ५० अर्ब डलर हुन्छ । यो क्षति जर्मनी जस्तो शक्तिशाली देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १ प्रतिशत वा लाटभिया र एस्टोनिया जस्ता देशको सम्पूर्ण जीडीपी बराबर हो ।

स्ट्रेट अफ होर्मुज खुला भए पनि तेल उत्पादन र प्रवाह पुरानै लयमा फर्कन निकै समय लाग्ने देखिएको छ । अप्रिल महिनामा मात्रै विश्वव्यापी जमिनमुनिको तेल भण्डारण ४ करोड ५० लाख ब्यारेलले घटेको छ । कुवेत र इराकका केही तेल खानीहरूलाई सामान्य अवस्थामा ल्याउन अझै चारदेखि पाँच महिना लाग्न सक्छ ।

कतारको रास लफान एलएनजी कम्प्लेक्स र अन्य प्रशोधन केन्द्रहरूमा पुगेको क्षतिका कारण क्षेत्रीय ऊर्जा पूर्वाधारको पूर्ण पुनःस्थापना हुन भने वर्षौँ लाग्ने निश्चित देखिएको छ ।

कमेन्टहरु