२०० करोडको सम्पत्ति शुद्धीकरण प्रकरण : अभियुक्तबाट सरकारी साक्षी बन्न चाहन्छिन् ज्याकलिन


मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोड भारुको कुख्यात सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) प्रकरणमा सरकारी साक्षी बन्ने इच्छा व्यक्त गरेकी छन् । पटियाला हाउस कोर्टमा भएको सुनुवाइका क्रममा उनले यस मामिलामा सत्यतथ्य बाहिर ल्याउन र अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको जानकारी दिएकी हुन् ।
अदालतले ज्याकलिनको प्रस्ताव सुनेपछि यसका लागि सबैभन्दा पहिले प्रवर्तन निर्देशनालय (ईडी) मा औपचारिक निवेदन दर्ता गर्न निर्देशन दिएको छ । यो घटना मुख्य ठग सुकेश चन्द्रशेखरसँग जोडिएको छ, जसमा सुकेशले र्यानब्याक्सीका पूर्व प्रमोटर शिविन्दर सिंहकी पत्नी अदिती सिंहबाट करिब २०० करोड ठगी गरेको आरोप छ । अनुसन्धानका क्रममा सुकेशले ठगीको पैसाबाट ज्याकलिनलाई करोडौँका महँगा उपहारहरू दिएको खुलासा भएपछि ईडीले उनलाई पनि अभियुक्त बनाएको थियो । ज्याकलिन लामो समयदेखि यस हाई-प्रोफाइल केसमा अभियुक्तका रूपमा कानुनी लडाइँ लडिरहेकी छन् ।
यदि ईडीले उनको निवेदन स्वीकार गरेर अदालतले अनुमति दियो भने उनी यस केसमा अभियुक्तबाट साक्षीमा परिणत हुनेछिन् । कानुनी विज्ञहरूका अनुसार सरकारी साक्षी बनेर सुकेशविरुद्ध ठोस प्रमाण र जानकारी उपलब्ध गराएमा उनले सजायमा छुट वा कानुनी कारबाहीबाट राहत पाउन सक्ने सम्भावना रहन्छ ।
ईडीको दाबी अनुसार सुकेशले ज्याकलिनसँगको मित्रताका क्रममा ७ करोड भारु भन्दा बढी खर्च गरेका थिए । उनले ज्याकलिनलाई ५७ लाखको घोडा, चारवटा पर्सियन बिराला, हिराका गहना र महँगा विलासी झोलाहरू उपहार दिएका थिए ।
यति मात्र नभई, बहराइनमा बस्ने ज्याकलिनका आमाबुबालाई झण्डै २ करोडका पोर्श र मसेराटी कार, भाइलाई एसयूभी र बहिनीलाई सवा करोडको बीएमडब्ल्यू कार समेत सुकेशले नै किनिदिएको अनुसन्धानमा देखिएको छ ।
सन् २०२१ देखि सुरु भएको यो कानुनी झमेलाका कारण ज्याकलिनको करियर र छविमा गम्भीर असर परेको छ । उनले विदेश जानका लागि पटक–पटक अदालतको अनुमति लिनुपर्ने र धेरै ब्रान्ड तथा फिल्महरू गुमाउनुपर्ने अवस्था आएको थियो ।






















