राम र रामायणको मजाक उडाएको आरोपमा प्रकाश राजविरुद्ध उजुरी दर्ता


नयाँ दिल्ली । भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता प्रकाश राज एक पटक फेरि विवादको घेरामा तानिएका छन् । भगवान राम र हिन्दूहरूको पवित्र ग्रन्थ रामायणको अपमान गरेको तथा मजाक उडाएको आरोपमा उनीविरुद्ध दिल्लीमा प्रहरी उजुरी दर्ता गरिएको छ ।केरल लिटरेचर फेस्टिभलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो विवाद सुरु भएको हो । उक्त भिडियोमा प्रकाश राजले बालबालिकाहरूले लेखेको एक काल्पनिक रामायणको कथा सुनाइरहेका देखिन्छन् ।
जब राम र लक्ष्मणसँग पैसा नभएको कुरा आउँछ, तब रावणले पैसाको बदलामा काम गरेर ऋण तिर्न र फलको बीउ रोपेर रुख हुर्काउन भनेको भन्दै उनले कथा अघि बढाएका थिए । भिडियोमा उनले उत्तर भारतबाट आएका राम र दक्षिणका रावणबिचको भेटलाई ठट्टाको शैलीमा प्रस्तुत गरेका छन् ।
कथा सुनाउने क्रममा उनले उत्तर र दक्षिण भारतको विवादलाई पनि छोएका छन् । उत्तर भारतका मानिसहरूले दक्षिणमा हिन्दी भाषा लाद्न खोज्न नहुने र कसले के खाने भन्ने कुरामा हस्तक्षेप गर्न नहुने भन्दै उनले टिप्पणी गरेका थिए ।
प्रकाश राजको यो अभिव्यक्तिले धार्मिक भावनामा चोट पुर्याएको भन्दै अधिवक्ता अमिता सचदेवाले दिल्ली पुलिसको साउथ डिस्ट्रिक्ट साइबर सेलमा प्रकाश राजविरुद्ध उजुरी दिएकी हुन् । सचदेवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय न्याय संहिताका विभिन्न धाराहरू र आईटी एक्ट अन्तर्गत कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको जानकारी दिएकी छन् ।






















