कास्टिङका नाममा फिल्ममेकरले दुर्व्यवहार गरेको डेजी शाहको खुलासा


काठमाडौं । बलिउड अभिनेत्री डेजी शाहले आफ्नो करिअरको सुरुवाती दिनमा भोगेको एउटा निकै नराम्रो र डरलाग्दो अनुभव सार्वजनिक गरेकी छन् । एक अन्तर्वार्ताका क्रममा उनले कास्टिङ मिटिङका नाममा एक फिल्ममेकरले आफूमाथि गरेको दुर्व्यवहार र त्यसले आफ्नो जीवनमा पारेको प्रभावबारे खुलेर चर्चा गरेकी हुन् ।
‘फ्री प्रेस जर्नल’ सँग कुरा गर्दै डेजीले मुम्बईमा भएको उक्त घटनाको स्मरण गरिन् । उनका अनुसार दक्षिण भारतीय फिल्म उद्योगका एक फिल्ममेकर कास्टिङका लागि मुम्बई आएका थिए र त्यहाँ आफूसहित ६-७ जना युवतीहरू कामको सिलसिलामा भेट्न पुगेका थिए ।
उनले आफू मसाज गराउन समेत नजाने र महिलाले छुँदा समेत असहज मान्ने व्यक्ति भएको स्पष्ट पार्दै त्यसबेला निकै असुरक्षित महसुस गरेको बताएकी छन् । त्यो स्थितिबाट उम्किन डेजीले तुरुन्तै चतुरता अपनाएकी थिइन् ।उनले फिल्ममेकरलाई ‘म तपाईंसँग पछि कुरा गर्छु’ भन्दै कुनै प्रतिक्रिया नदिई त्यहाँबाट निस्कने निर्णय गरिन् । त्यसपछि उनले ती व्यक्तिसँग कहिल्यै सम्पर्क गरिनन् । यस घटनाले उनलाई फिल्म उद्योगमा काम गर्दा कहिल्यै पनि कसैसँग एक्लै भेट्नु हुँदैन भन्ने ठूलो पाठ सिकाएको छ ।
यसै अन्तर्वार्ताका क्रममा डेजीले सलमान खानसँग जोडेर आउने टिप्पणीहरूको पनि जवाफ दिएकी छन् । आफ्नो करिअर सलमान खानकै कारण मात्र चलिरहेको भन्ने चर्चामाथि उनले स्पष्ट पार्दै समाजमा कुनै पनि महिलाको सफलताका पछाडि सधैँ अरू कसैको हात देख्ने प्रवृति रहेको बताइन् ।
जीवनमा कसैबाट सहयोग पाउनु सामान्य कुरा भए पनि आफ्नो सफलतामा आफ्नै कडा परिश्रमको मुख्य भूमिका रहने र अब आफूलाई यस्ता कुराले खासै फरक नपर्ने उनले उल्लेख गरेकी छन् ।






















