पर्यटकलाई आकर्षित गर्दै बराहताल


बागलुङ । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म ओझेलमा थियो । गाउँपालिकाले पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न थालेपछि अहिले दैनिक आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ। समुद्री सतहदेखि करिब दुई हजार ७०० मिटरको उचाइमा रहेको तालसम्म सडक पुगेपछि पर्यटकको आकर्षण बढेको हो ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको करिब डेढ करोड बढी लगानीमा सडक, खानेपानी, शौचालय, घेराबार, पदमार्ग निर्माणलायत भौतिक पूर्वाधार निर्माण गरिएको छ । एक दशक अगाडिसम्म ताल आसपासका तमानखोला र ढोरपाटनका विभिन्न ठाउँबाट स्थानीय पूजाआजा गर्न जाने गरे पनि अन्य ठाउँबाट पर्यटक आउँदैनथे । तर पछिल्लो केही वर्षयता दैनिक पर्यटक आउन थालेको तमानखोला गाउँपालिका–२ का भूमिराज विकले बताए।
“बराहताल आजभन्दा १० वर्ष अगाडि धेरै ठुलो थियो, अहिले त यति ठुलो छ, पहिला नयाँ वर्षमा फाट्टफुट्ट मान्छेहरू घुम्न आए पनि अरु बेला आउँदैनथे”, विकले भने, “अहिले त दिनहुँजसो पर्यटकको आइरहन्छन्, यस्तो ठाउँमा यति धेरै मान्छे आउलान् भन्ने त लागेको थियो ।”
ताल घुम्न आउने पर्यटकले तमानखोलाको विभिन्न गाउँमा उत्पादन हुने आलु, सिमी, भाँगोलगायत वस्तु किनेर लैजाने गरेको स्थानीय तुलबहादुर छन्त्यालले बताए। यतिबेला ताल वरपरको घना जङ्गलमा गुराँस फुलेको हुँदा रमाउन आउनेको सङ्ख्या पनि बढेको उनको भनाइ छ।
उनले भने, “नयाँ वर्षका दिन त यहाँ दशौँ हजार मान्छे आउँथे, तर अहिले त नयाँ वर्ष मनाउन अघिल्लो दिनै आएर रातभर जागराम बस्ने, गीत गाउने र रमाइलो गर्ने पर्यटकहरू बढेका छन्, सडकले सहज पनि बनायो, प्रचारप्रसार पनि राम्रोसँग हुँदा पर्यटक बढे ।”
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बराहताललाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । तालको तीव्र प्रचारप्रसार हुँदा आन्तरिकमात्र नभई बाह्य पर्यटकसमेत आउने गरेको उहाँको भनाइ छ । ढोरपाटन सिकार आरक्षमा पुग्ने पदमार्ग यही ताल क्षेत्रमा पर्ने हुँदा विदेशी पर्यटकको रोजाइमा समेत बराहताल परेको अध्यक्ष बुढामगर बताउँछन्।






















