बिश्व

म्यानमारले ४ हजारभन्दा बढी कैदीलाई दियो आममाफी

एजेन्सी
२०८३ बैशाख ४ | मध्यान्ह ०४:०१ बजे

याङ्गोन । म्यानमारको सैन्य नेतृत्वले ४ हजारभन्दा बढी कैदीहरूलाई आममाफी वा सजाय कटौती गरेको छ । सरकारी सञ्चार माध्यम एमआरटभीका अनुसार यो निर्णयमा कुल ४ हजार ३३५ कैदीहरू समेटिएका छन् ।

यो कदम हालै राष्ट्रपतिको रूपमा नियुक्त भएका सैन्य प्रमुख मिन आङ ह्लाइङको पहिलो ठुला निर्णयमध्ये एक मानिएको छ । उनले हालै मात्र राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका थिए ।सरकारी विवरणअनुसार मृत्युदण्ड पाएका कैदीहरूको सजायलाई आजीवन कारावासमा रूपान्तरण गरिएको छ भने आजीवन सजाय पाएकाहरूको सजाय ४० वर्षमा घटाइएको छ । अन्य कैदीहरूको सजायमा छैटौँ कटौती गरिएको छ । 

यस आममाफीमा १७९ विदेशी नागरिकहरू पनि समावेश छन् । यिनलाई रिहा गरी देशबाट निष्कासन गरिने बताइएको छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ पूर्व राष्ट्रपति विन मिन्टलाई पनि माफी दिइएको छ । उनी सन् २०२१ को सैन्य कू पछि हिरासतमा थिए र विभिन्न अभियोगमा सजाय भोगिरहेका थिए । 

त्यसैगरी, अपदस्थ नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको सजाय पनि घटाइएको उनका वकिलले बताएका छन् । तर उनी पूर्ण रूपमा रिहा हुने वा घरमै नजरबन्दमा राखिने भन्ने स्पष्ट भएको छैन ।

सरकारी विज्ञप्तिमा केही राजनीतिक कैदीहरूको अवस्था उल्लेख नगरिएको भए पनि देशभरका जेलका बन्दीका परिवारले रिहाइको आशाको प्रतीक्षा गरेका छन् ।याङ्गोनस्थित इन्सेन जेल बाहिर परिवारका सदस्यहरू आफ्ना आफन्त रिहा हुने आशामा भेला भएका दृश्यहरू देखिएका छन् । मानवअधिकार समूहहरूले भने म्यानमारमा ‘कू’ पछिको दमन अझै जारी रहेको बताएका छन् ।  

कमेन्टहरु