प्रबास

चीनमा आइफोनको बिक्री २० प्रतिशतले बढ्यो

एजेन्सी
२०८३ बैशाख ४ | मध्यान्ह ०४:०१ बजे

बेइजिङ । चीनमा एप्पलको आइफोन बिक्री बढेको छ । यस वर्षको पहिलो तीन महिनामा चीनमा आइफोनको बिक्री २० प्रतिशतले बढेका छन् । बजार अनुसन्धान संस्था काउन्टर प्वाइन्ट रिसर्चका अनुसार प्रतिस्पर्धी ब्रान्डहरूबिच एप्पलले सबैभन्दा बलियो वृद्धि हासिल गरेको हो । जनवरी मार्च त्रैमासमा समग्रमा आइफोनको विक्री ४ प्रतिशतले घटेको छ । या चिपको मूल्य बढ्दा उत्पादन लागत महँगो भएको र सप्लाई चेनमा अवरोध देखिएकाले बजारमा गिरावट आएको हो । 

काउन्टर रिसर्चमा वरिष्ठ विश्लेषक इभान ल्यामका अनुसार एप्पलको सफलताको प्रमुख कारण उपभोक्तामा रहेको दीर्घकालीन विश्वास हो । चिनियाँ उपभोक्ताहरूले आइफोनलाई कम्तीमा तीन वर्ष वा सोभन्दा बढी टिक्ने र मूल्यको राम्रो प्रतिफल दिने उपकरणका रूपमा हेर्ने गरेको अनि यसले बिक्रीलाई मजबुत बनाएको उनले भने । साथै, प्रतिस्पर्धी कम्पनीहरूले मूल्य बढाइरहेका बेला एप्पलले तुलनात्मक रूपमा स्थिर मूल्य नीति अपनाउनु पनि यसको अर्काे कारण मानिएको छ ।

घरेलु ब्रान्ड हुवावेईले पनि २ प्रतिशत वृद्धि गर्दै बजारमा मजबुत उपस्थिति कायम राखेको छ । हुवावेको बजार हिस्सा २० प्रतिशत पुगेको छ र यसले चीनको स्मार्टफोन बजारमा पहिलो स्थान कायम राखेको छ । एप्पल भने १९ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रहेको छ । हुवावेले हाई एन्ड र बजेट दुवै खण्डमा राम्रो प्रदर्शन गरेको छ । विशेषगरी “इन्जोए ९० सिरिज”ले उपभोक्तामाझ राम्रो प्रतिक्रिया पाएको छ । 

तर अन्य प्रमुख ब्रान्डहरूको अवस्था कमजोर देखिएको छ । साओमीको विक्री ३५ प्रतिशतले घटेको छ, जसलाई विश्लेषकहरूले गत वर्षको उच्च आधार र आक्रामक मूल्य छुटको असरसँग जोडेर व्याख्या गरेका छन् । त्यस्तै ओप्पोको विक्री ५ प्रतिशत र अनरको ३ प्रतिशतले घटेको छ भने भिभोको विक्री २ प्रतिशतले बढेको छ ।

विश्लेषकहरूका अनुसार आगामी त्रैमासमा चीनको स्मार्टफोन बजार अझै चुनौतीपूर्ण रहन सक्छ । चिपको मूल्य उच्च रहँदा र कम्पनीहरूले मूल्य वृद्धि जारी राख्दा उपभोक्ता मागमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ । तथापि, एप्पल र हुवावे जस्ता प्रमुख ब्रान्डहरूले तुलनात्मक रूपमा बलियो प्रदर्शन कायम राख्ने अपेक्षा गरिएको छ, जसले बजारमा उनीहरूको प्रतिस्पर्धा अझ तीव्र बनाउनेछ ।

कमेन्टहरु