प्रबास

फेड अध्यक्ष पावेल पदबाट नहटे निकालिदिने ट्रम्पको धम्की

एजेन्सी
२०८३ बैशाख ३ | मध्यान्ह ०५:०१ बजे

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) अध्यक्ष जेरोम पावेललाई आफ्नो पदबाट नहटे जबर्जस्ती हटाउने चेतावनी दिएका छन् ।

मे १५ मा पावेलको अध्यक्ष पदको म्याद सकिँदै छ । पावेलको कार्यकाल सकिए पनि उनले फेडको बोर्ड अफ गभर्नर्सबाट नहटे आफूले उनलाई बर्खास्त गर्ने ट्रम्पले बताएका हुन् । फक्स बिजनेससँगको अन्तर्वार्तामा उनले पावेललाई हटाउन चाहेको तर विवाद टार्न रोकेको उल्लेख गर्दै अब भने आवश्यक परे कारबाही गर्ने संकेत दिएका छन्, यसले अमेरिकी केन्द्रीय बैंकभित्रको नेतृत्व परिवर्तन प्रक्रिया जटिल बनेको छ । यसैबिच पावेलमाथि चलिरहेको अनुसन्धानले ट्रम्पले प्रस्ताव गरेका नयाँ अध्यक्ष केभिन वार्शको नियुक्ति प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ ।

यो अनुसन्धान कोलम्बिया जिल्लाकी महान्यायाधीवक्ता जिनी पिर्रोद्वारा फेडको वाशिङ्टनस्थित भवन निर्माण परियोजनामा खर्चसम्बन्धी विषयमा केन्द्रित रहेको छ । विश्लेषकहरूका अनुसार पावेल बोर्डमा कायम रहे भने फेडभित्र शक्ति सन्तुलन कायम रहनेछ, तर उनलाई हटाएर नयाँ सदस्य नियुक्त गर्न सके ट्रम्प प्रशासनलाई मौद्रिक नीतिमा बढी प्रभाव पार्न सहज हुनेछ । 

हाल फेडका सात सदस्यीय बोर्डमा केही सदस्यहरू पूर्वराष्ट्रपति जो बाइडेनद्वारा नियुक्त छन् भने पावेल आफैं ट्रम्पकै पहिलो कार्यकालमा नियुक्त भएका थिए । यद्यपि उनले स्वतन्त्र रूपमा काम गर्दै आएका छन् र ट्रम्पको ब्याजदर घटाउने दबाबलाई अस्वीकार गरेका छन् ।

अर्काेतर्फ रिपब्लिकन सिनेटर थोम टिलिसले पावेलमाथिको अनुसन्धानलाई फेडको स्वतन्त्रतामाथि आक्रमण भन्दै आलोचना गरेका छन् । यो मुद्दा नहटेसम्म वार्शको नियुक्ति रोक्ने चेतावनी दिएका छन् । 

ट्रम्पले भने वार्शलाई समर्थन गर्दै उनलाई ब्याजदर घटाउन सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वार्श समयमै पुष्टि हुने विश्वास व्यक्त गरेका छन् । पावेलले भने आफू अनुसन्धान पूरा नभएसम्म फेडको बोर्ड छोड्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् । उनले आवश्यक परे सन २०२८ सम्म आफ्नो पदमा रहने संकेत पनि दिएका छन् । 

 

कमेन्टहरु