बिश्व

इरान युद्ध : एसियाली देशहरूलाई १० अर्ब डलर सहयोग गर्दै जापान

एजेन्सी
२०८३ बैशाख ३ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । जापानले इन्धन सङ्कटको सामना गरिरहेका एसियाली देशहरूलाई सहयोग गर्न १० अर्ब डलरको आर्थिक सहायता घोषणा गरेको छ । यो कदम इरानमा अमेरिका र इजरायली युद्धका विश्वव्यापी ऊर्जा आपूर्तिमा आएको अवरोधपछि उठाइएको हो।

जापानकी प्रधानमन्त्री सानाय ताकाइचीले बुधबार एसियाली नेताहरूसँगको भर्चुअल बैठकपछि नयाँ सहकार्य ढाँचा सार्वजनिक गरिन् । उनले एसियाली देशहरूबिच आपूर्ति शृङ्खलामार्फत गहिरो आपसी निर्भरता रहेको उल्लेख गरिन्। 

यो योजनाअन्तर्गत कच्चा तेल तथा पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्ने, भण्डारण बढाउने र आपूर्ति प्रणाली सुदृढ बनाउने लक्ष्य राखिएको छ । विशेष गरी आशियानमा पर्ने देशहरू फिलिपिन्स, मलेसिया, सिंगापुर, थाइल्याण्ड, भियतनाम यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । बङ्गलादेश र दक्षिण कोरियाका नेताहरूले पनि यस पहलको स्वागत गरेका छन्। 

ऊर्जा सङ्कटको मुख्य कारण स्टेट अफ होर्मुजमा देखिएको अस्थिरता हो, जहाँबाट विश्वमा खपत हुने २० प्रतिशत तेल आपूर्ति हुने गर्दछ, र यसको करिब ९० प्रतिशत तेल एसियातर्फ जाने गर्छ।

यस परियोजनाका लागि रकम जापान अन्तर्राष्ट्रिय सहयोग बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी र एसियाली विकास बैंकजस्ता संस्थामार्फत जुटाइनेछ । जापानले आफ्नै भण्डारबाट पनि तेल निकालिरहेको छ।सन २०२५ अन्त्यसम्म जापानसँग २५४ दिनलाई पुग्ने तेल भण्डारण थियो, तर हालको सङ्कटका कारण रणनीतिक भण्डारबाट तेल झिक्ने काम भइरहेको छ। 

 

कमेन्टहरु