साउदी भ्रमणमा सरिफ, कूटनीति र आर्थिक सहायतामा जोड


काठमाडाैँ । क्षेत्रीय तनावबिच कूटनीतिक सक्रियता बढाइरहेको पाकिस्तानले एकातर्फ अमेरिका–इरान शान्ति प्रयासमा भूमिका खेलिरहेको छ भने अर्कोतर्फ आफ्नो प्रमुख साझेदारसँग आर्थिक तथा रणनीतिक सम्बन्ध बलियो बनाउन अघि बढेको छ । यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ साउदी अरबको औपचारिक भ्रमणका लागि बुधबार प्रस्थान गरेका छन्।
प्रधानमन्त्री सरिफ उच्चस्तरीय प्रतिनिधिमण्डलसहित इस्लामाबादबाट जेद्दातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै क्षेत्रीय परिस्थितिबारे उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।
यसैबिच पाकिस्तानको कमजोर बन्दै गएको विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न साउदी अरबले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पाकिस्तानको वित्त मन्त्रालयका अनुसार साउदी अरबले तीन अर्ब अमेरिकी डलर बराबरको थप निक्षेप उपलब्ध गराउने घोषणा गरेको छ, जसको वितरण आगामी हप्ताभित्र हुने अपेक्षा गरिएको छ।
अर्थ तथा राजस्वमन्त्री मुहम्मद औरङ्गजेबले यो सहयोगले देशको विदेशी मुद्रा भण्डार मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताए । उनी हाल अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक वसन्त बैठकका लागि वासिङ्टनमा छन् । उनका अनुसार साउदी अरबले यसअघि उपलब्ध गराएको पाँच अर्ब डलर निक्षेपलाई पनि अनिश्चित अवधिका लागि निरन्तरता दिने निर्णय गरेको छ।
यो सहयोग त्यस्तो समयमा आएको हो जतिबेला पाकिस्तानले साउदी अरबको क्षेत्रीय प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्सलाई लिएको अर्बौं डलर ऋण फिर्ता गरिरहेको जनाएको थियो । यसले पाकिस्तानको आर्थिक व्यवस्थापन र बाह्य निर्भरतालाई सन्तुलनमा राख्ने प्रयासलाई सङ्केत गर्दछ।






















