हलिउडका १४०० भन्दा बढी कलाकारद्वारा पारामाउन्ट र वार्नर ब्रोजको मर्जरको विरोध


लस एञ्जलस । हलिउडका सयौँ ठुला कलाकार र फिल्ममेकरहरू सहित १ हजार ४०० भन्दा बढी व्यक्तिहरूले प्रस्तावित पारामाउन्ट र वार्नर ब्रोज डिस्कभरीबिचको मर्जरको विरोध गर्दै खुला पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त पत्रमा एम्मा थम्पसन, बेन स्टिलर, जाभिएर बार्डेम र रोज बार्नेसहित अन्य कलाकारहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले यो मर्जरले अमेरिकी मनोरञ्जन उद्योगमा प्रतिस्पर्धा घटाउने र अवसरहरू सीमित गर्ने चेतावनी दिएका छन् ।
यस मर्जरको विपक्षमा रहेका अन्य कलाकारहरूमा क्रिस्टन स्टीवर्ट, ग्लेन क्लोज र क्रिस्टन स्कट थोमस पनि छन् । उनीहरूले स्पष्ट रूपमा विरोध जनाउँदै नियामक निकायहरूले सम्झौता रोक्नुपर्ने बताएका छन् । प्यारामाउन्ट स्काईडान्सले भने प्रतिक्रिया दिँदै यो मर्जरले सिर्जनाकर्ताहरूलाई थप अवसर दिने र धेरै परियोजनाहरूलाई समर्थन गर्ने दाबी गरेको छ ।
कम्पनीका अनुसार मर्जरपछि वार्षिक कम्तीमा ३० वटा उच्च गुणस्तरका फिल्महरू निर्माण गरी विश्वव्यापी रूपमा रिलिज गर्ने योजना छ । साथै, उनीहरूले “सृजनशीलतालाई प्राथमिकता दिँदै उद्योगलाई मजबुत बनाउने” बताएका छन् । यस मर्जरबारे अन्तिम निर्णय नियामक निकायहरूले गर्नेछन्, जसमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टालगायतको भूमिका रहनेछ ।






















