प्रबास

पश्चिम एसियामा शान्तिका लागि सीका ‘चार प्रस्ताव’ सार्वजनिक

एजेन्सी
२०८३ बैशाख १ | मध्यान्ह ०४:०१ बजे

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले पश्चिम एसियाको बिग्रँदो सुरक्षा अवस्थाबिच शान्ति स्थापनाका लागि चार प्रस्ताव अघि सारेका छन् । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि करिब ६ हप्तादेखि क्षेत्र तनावग्रस्त बनेको सन्दर्भमा उनले पहिलोपटक विस्तृत धारणा सार्वजनिक गरेका हुन् । बेइजिङमा अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मदसँग भएको भेटका क्रममा सीले विश्व “जंगलको कानुन”तर्फ फर्कन नदिनुपर्नेमा जोड दिए । उनले खाडी क्षेत्रको वर्तमान अवस्थाबारे दुवै पक्षबिच विचार आदानप्रदान भएको पनि उल्लेख गरेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले चीन शान्ति, संवाद र स्थिरताको पक्षमा उभिने नीति दोहोर्‍याउँदै भविष्यमा पनि “रचनात्मक भूमिका” खेल्ने बताएका छन्  । हालसम्म चीनले यस द्वन्द्वबारे आफ्नो प्रतिक्रिया मुख्यतः कूटनीतिज्ञहरूमार्फत व्यक्त गर्दै आएको थियो ।

सीले प्रस्तुत गरेका चार प्रस्ताव पश्चिम एसियामा दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यमा केन्द्रित छन् । उनले देशहरूबिच शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त कायम राख्नुपर्ने बताए ।

साथै उनले दीगो र सन्तुलित सुरक्षा संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । यो अवधारणा चीनले प्रायः अमेरिकी गठबन्धन प्रणालीप्रति आलोचना गर्न प्रयोग गर्दै आएको मानिन्छ । सीले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना हुनुपर्ने र त्यसलाई चयनात्मक रूपमा लागू गर्न नहुने बताएका छन् । यो धारणा पनि प्रायः अमेरिकाको  नीतिप्रति चीनको आलोचनासँग जोडिने गर्छ ।

 “अन्तर्राष्ट्रिय कानुनको अधिकार जोगाइनुपर्छ । यसलाई आवश्यक परे प्रयोग गर्ने र असहज हुँदा त्याग्ने काम हुनु हुँदैन । विश्वलाई फेरि ‘जंगलको कानुन’तर्फ फर्कन दिनु हुँदैन,” सीले भने ।

उनले सबै देशहरूको सार्वभौमिकता, सुरक्षा र संस्थागत संरचनाको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए । साथै, सुरक्षा र विकासबिच सन्तुलन कायम गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

पश्चिम एसियामा बढ्दो तनावबिच चीनले आफूलाई शान्ति र संवादको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ, र सीका यी प्रस्तावहरू त्यसैको निरन्तरता मानिएका छन्। 

कमेन्टहरु