बिश्व

अमेरिका–इरान शान्ति वार्ताको आशामा घट्यो तेलको मूल्य

एजेन्सी
२०८३ बैशाख १ | मध्यान्ह ०२:०१ बजे

न्यूयोर्क । मङ्गलबार एसियाली कारोबारमा तेलको मूल्यमा केही कमी आएको छ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प प्रशासन र इरानबीच नयाँ शान्ति वार्ताको सम्भावनाले ऊर्जा आपूर्तिमा थप अवरोध हुने चिन्ता कम भएपछि भाउ घटेको हो । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको मूल्य मंगलबार करिब १ प्रतिशतले घटेर प्रति ब्यारेल ९८ डलर ४ सेन्टमा आएको छ भने अमेरिकी बजारमा कारोबार हुने वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि १ दशमलव ७ प्रतिशतले घटेर ९७ डलर ४ सेन्टमा झरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानले सम्भावित सम्झौताबारे वाशिङ्टनसँग सम्पर्क गरेको बताएका छन् । ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “अर्को पक्षले हामीलाई सम्पर्क गरेको छ, उनीहरू सम्झौता गर्न चाहन्छन् ।” यसअघि, अमेरिका र इरानबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्ने आदेश दिएका थिए, जसका कारण तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो ।

अर्कोतर्फ, द न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार इरानले पाँच वर्षसम्म युरेनियम समृद्धि रोक्ने प्रस्ताव गरेको थियो, तर अमेरिकाले २० वर्षको अवधि माग गर्दै उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ । पाकिस्तानमा भएको वार्तामा दुबै पक्षबीच आणविक गतिविधि रोक्ने विषयमा विभिन्न प्रस्तावहरू आदानप्रदान भए पनि सहमति अझै टाढा रहेको जनाइएको छ । यद्यपि, ती छलफलहरूले शान्ति सम्झौताका लागि सम्भावित बाटो खुला रहेको संकेत दिएका छन् भने आमनेसामने वार्ताको दोस्रो चरण हुने सम्भावना पनि देखिएको छ ।

यसैबीच, एसियाली शेयर बजारहरूमा सामान्य वृद्धि देखिएको छ । जापानको निक्केई २२५ सूचकांक २ दशमलव ६ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी सूचकांक ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । खाडी क्षेत्रबाट ऊर्जा आपूर्तिमा निर्भर एसियाली देशहरू यो द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएका छन् । विशेषगरी विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने स्ट्रेट अफ होर्मुज तनावको केन्द्र बनेको छ ।

अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले जलमार्ग बन्दजस्तै अवस्थामै रहेकाले आगामी केही सातासम्म तेलको मूल्य अझै बढ्न सक्ने बताएका छन् । उनका अनुसार, “जबसम्म हर्मुज जलडमरूमा जहाज आवतजावत सहज हुँदैन, ऊर्जा मूल्य उच्च रहनेछ, र त्यसपछि मात्र मूल्यको उच्च बिन्दु देखिन सक्छ ।”

कमेन्टहरु