उपचुनावपछि कार्नीको लिबरल पार्टीलाई बहुमत


टोरन्टो । क्यानडामा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले क्यानडाको संसद हाउस अफ कमन्समा झिनो बहुमत सुरक्षित गरेको छ । सोमबार सम्पन्न उपनिर्वाचनमा कम्तीमा दुई सिट जितेपछि सत्तामा उसको पकड बलियो बनेको हो । यी जितहरू कार्नीले प्रधानमन्त्री पद सम्हालेको एक वर्षपछि आएका हुन् । यसबीच विपक्षी दलका पाँच सांसद लिबरल पार्टीमा प्रवेश गरेपछि पनि सत्तापक्षको शक्ति बढेको थियो ।
यी सिटहरू पूर्व रक्षामन्त्री बिल ब्लेयरलाई बेलायतका लागि क्यानडाको राजदूत नियुक्त गरिएपछि र पूर्व उपप्रधानमन्त्री क्रिष्टिया फ्रिल्यान्ड युक्रेनका सल्लाहकार बनेपछि रिक्त भएका थिए । कार्नीले सोमबार राति सामाजिक सञ्जालमार्फत विजयी उम्मेदवार ड्यानिएल मार्टिन र डोली बेगमलाई बधाई दिएका छन् । क्युबेकको टेरेबोन क्षेत्रमा भएको तेस्रो उपनिर्वाचनमा लिबरल उम्मेदवार टाटियाना अगस्टे थोरै मतान्तरले अगाडि रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।
यो बहुमत लिबरल पार्टीका लागि ठूलो राजनीतिक पुनरागमन मानिएको छ । पूर्व प्रधानमन्त्री जष्टिन ट्रुडोले झण्डै एक दशक सत्तामा रहेर राजीनामा दिएपछि कार्नीले पार्टीको नेतृत्व सम्हालेका थिए । यो क्यानडाको इतिहासमा पहिलोपटक उपनिर्वाचन र दल परिवर्तनको संयोजनबाट बहुमत सरकार बनेको घटना हो । तर विपक्षी कन्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले यसलाई मतदातालाई धोका दिने बन्द कोठाभित्रको सम्झौता भन्दै आलोचना गरेका छन् ।






















