बिश्व

अमेरिकामा इजरायल र लेबनानका दूतबिच दुर्लभ वार्ता हुँदै

एजेन्सी
२०८३ बैशाख १ | मध्यान्ह ०१:०१ बजे

वासिङ्टन डीसी । इजरायल र लेबनानका अमेरिकी राजदूतहरूबिच आज वासिङ्टनमा प्रत्यक्ष वार्ता हुन लागेको छ । कूटनीतिक सम्बन्ध नै नभएका यी दुई देशका अधिकारीहरू दशकौँपछि पहिलोपटक आमनेसामने वार्तामा बस्न लागेका हुन् ।अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि विदेश मन्त्रालयमा हुने यस  दुर्लभ वार्तामा सहभागी हुने बताइएको छ । यो वार्ता अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्न भएको प्रयास असफल भएको केही दिनपछि हुन लागेको हो ।

दुवै पक्षका राजदूतहरूले आफ्ना देशहरूबिच उच्चस्तरीय प्रत्यक्ष वार्ताको सम्भावनाबारे छलफल गर्नेछन् । लेबनान पक्षले पहिले हिजबुल्लाहसँग जारी इजरायलको युद्धमा युद्धविराम गराउने प्रयास गर्न चाहेको छ । तर इजरायलले इरान समर्थित उक्त समूहलाई निःशस्त्रीकरण नगरेसम्म युद्धविराम अस्वीकार्य हुने बताएको छ । यता, हिजबुल्लाहले भने यस्ता वार्ताहरू अस्वीकार गर्दै कुनै पनि सहमतिलाई स्वीकार नगर्ने जनाएको छ ।

हालैको इजरायल–हिजबुल्लाह द्वन्द्वले लेबनानमा ठूलो मानवीय संकट निम्त्याएको छ । एक मिलियनभन्दा बढी मानिस विस्थापित भएका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । जसमा करिब ५०० महिला, बालबालिका र स्वास्थ्यकर्मीहरू रहेका छन् । 

कमेन्टहरु