समाज

अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तरको यात्रामा बर्दघाटको कुमुदिनी, –आइएसओ लोगो हस्तान्तरण

नवलपुर टुडे
२०८३ बैशाख १ | बिहान ०८:०१ बजे
तस्वीर – आधिकारिक लोगो हस्तान्तरण समारोहमा ।

नवलपरासी, बैशाख १ । पश्चिम नवलपरासीको बर्दघाटस्थित कुमुदिनी माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर मापदण्ड कायम गर्ने दिशामा उपलब्धि हासिल गरेको छ । विद्यालयले ‘अन्तर्राष्ट्रिय मानकीकरण संस्था’ (आइएसओ) को निश्चित मापदण्डहरू पूरा गरेसँगै आइएसओ लोगो प्राप्त गरेको हो । विद्यालय पुगेर आइएसओ प्रतिनिधि सुदिप पौडेलले विद्यालयका अध्यक्ष धीरज शर्मा बस्याल र प्रधानाध्यापक रेश्मीराज बस्याललाई आधिकारिक लोगो हस्तान्तरण गर्नुभयो ।

आइएसओ प्रमाणपत्र प्राप्तिका लागि कुल ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने प्रावधान छ। विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालका अनुसार हालसम्म कुमुदिनीले झन्डै ३० प्रतिशत सूचकहरू पूरा गरिसकेको छ ।शैक्षिक योजना, शिक्षकको दक्षता, प्रशासनिक चुस्तता, विद्यार्थी मूल्याङ्कन प्रणाली, भौतिक पूर्वाधार र सुरक्षा व्यवस्था जस्ता आधारभूत मापदण्डहरूमा विद्यालयले उल्लेख्य सुधार गरेपछि यो लोगो प्रदान गरिएको हो । बाँकी रहेका सूचकहरू आगामी ३ वर्षभित्र पूरा गर्ने लक्ष्य रहे पनि विद्यालयले सो समय अगावै सबै प्रक्रिया सम्पन्न गरी पूर्ण प्रमाणपत्र प्राप्त गर्ने संकल्प लिएको छ।

लोगो हस्तान्तरण समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य एवंम् रास्वापाका नेता बिक्रम खनालले निजि क्षेत्र र सरकारबिचको आपसी सहकार्यले मात्रै ठोस उपलब्धि हासिल हुन सक्ने बताउनुभयो । खनालले सरकारले शैक्षिक सुधारका लागी काम गरिरहेको जिकिर गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयले सरकारले दिएको निर्देशन अक्षरस पालना गर्नुपर्नेमा

जोड जोड दिनुभयो। सस्थागत विद्यालयहरुमा शैक्षिक गुणस्तरीयतामा कमि हुन नहुने गरी शैक्षिक बाताबरण तयार गर्नु पर्ने उल्लेख दिनुभयो ।
लोगो सार्वजनिक गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धीरज शर्मा बस्यालले भन्नुभयो, “आइएसओ लोगो प्राप्त गर्नु हाम्रो अन्तिम लक्ष्य होइन, बरु अन्तर्राष्ट्रिय गुणस्तरको नयाँ यात्राको सुरुवात हो। यसले हाम्रो शिक्षण-सिकाइ र व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय बनाउन मार्गदर्शन गर्नेछ।” उहाँले यस यात्रामा साथ दिने अभिभावक, शिक्षक र कर्मचारीप्रति आभार समेत व्यक्त गर्नुभयो।

 

कमेन्टहरु