Opens in a new tab

समाज

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

नवलपुर टुडे
२०८२ चैत्र २१ | मध्यान्ह ०१:१२ बजे

काठमाडौं ,चेत २१। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् ।अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेता कोइरालाले १८ वर्षको अवधिमा संस्थाले सोचेजति प्रगति गर्न नसकेको स्वीकार गरे । उनले भने,‘संस्थाले १८ वर्षमा जति सोचेको थियो, त्यति काम गर्न सकेको छैन । अब एक–अर्कालाई दोष लगाएर बस्ने समय होइन, कसैलाई आरोप नलगाई संस्थालाई अगाडि बढाउनु पर्छ ।’

डा.कोइरालाले संस्था चल्दैन भन्नुभन्दा पनि यसलाई कसरी राम्रो बनाउने भन्नेतर्फ ध्यान दिन कार्यदललाई आग्रह गरे । ‘कसले के गर्यो वा गरेन भनेर अल्झिनु हुँदैन । अबको बाटो कसरी राम्रो बनाउने भन्ने नै हो,’ उनले थपे ।

यस्तै, अस्पतालका पूर्व अध्यक्ष डा. केदार नर्सिङ केसीले संस्थालाई विचार र राजनीतिको चश्माबाट मात्र नहेरी सामाजिक उत्तरदायित्व र मनोबलका साथ अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘यो राजनीतिक गर्ने ठाउँ होइन, सामाजिक काम गर्ने संस्था हो । सामाजिक मनोबलका साथ काम गर्ने हो भने संस्थालाई अगाडि बढाउन सकिन्छ, आत्तिनुपर्ने अवस्था छैन ।’

डा. केसीले संस्थाका सबै सदस्यहरूलाई विगतका तिता–मिठा अनुभव बिर्सिएर संगठित हुन आग्रह गरे । संस्था सुधार्न छानबिन समितिभन्दा पनि सफा नियत आवश्यक रहेको उल्लेख गर्दै उनले तीन जना मात्रै पनि एकै ठाउँमा उभिए संस्था राम्रो हुने विश्वास व्यक्त गरे । आफू अन्य संस्थामा रहे पनि वा छाडे पनि यस अस्पतालमा सधैँ आबद्ध भइरहने प्रतिबद्धता समेत उनले जनाए । न्यूज बैंक

कमेन्टहरु