बिश्व

आईआरजीसीका नौसेना कमान्डरको मृत्यु भएको पुष्टि

एजेन्सी
२०८२ चैत्र १६ | मध्यान्ह ०५:१२ बजे

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो नौसेना कमान्डर अलिरेजा ताङ्सिरीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।मृत्यु भएको खबर आएको चार दिनपछि यसको पुष्टि गरिएको हो । इजरायलले पहिले नै उनलाई निशाना बनाएर आक्रमण गरेको अनि उनको मृत्यु भइसकेको बताएको थियो ।

‘ताङ्सिरीले बलहरूलाई सङ्गठित गर्दै टापु र तटहरूको रक्षा ढाल मजबुत पार्ने काम गरिरहेका थिए’ भनी आईआरजीसीसम्बद्ध समाचार संस्था ‘तास्निम’मा प्रकाशित विज्ञप्तिमा भनिएको छ । उनको मृत्यु गम्भीर चोटका कारण भएको बताइएको छ । कमान्डर ताङ्सिरीको अनुपस्थितिमा पनि आईआरजीसी नौसेना बलहरूले नाशक प्रहारहरू जारी राख्दै स्ट्रेट अफ हर्मुजमा निर्णायक नियन्त्रण कायम राखेको विज्ञप्तिमा उल्लेख छ । 

दुश्मन पूर्ण रूपमा नष्ट नभएसम्म विश्राम नगर्ने विज्ञप्तिमा आईआरजीसीले कसम खाएको छ । ताङ्सिरी आईआरजीसीका सबैभन्दा वरिष्ठ कमान्डरमध्ये एक थिए । हालै रणनीतिक स्ट्रेट अफ हर्मुजमार्फत जहाजहरूको सञ्चालनको निगरानीमा संलग्न थिए ।

इरानमाथि आक्रमण गर्ने कुनै पनि देशसँग सम्बद्ध जहाजलाई स्ट्रेट भएर आउने जाने अधिकार नभएको माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा उनले लेखेका थिए । ताङ्सिरीले यसअघि बारम्बार अमेरिकी र इजरायलविरोधी बयानहरू दिएका थिए । यिनलाई अमेरिकाको अर्थमन्त्रालयले प्रतिबन्ध लगाएको थियो । 

कमेन्टहरु