प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्याउनुपर्ने


चितवन, चैत १४। प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि विचारहरु गाउँसम्म पुर्याउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।प्रजातान्त्रिक विचार समाज चितवनको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि दल र आमनागरिकमा यसको भाष्य के हो भनेर बुझाउन आवश्यक रहेको बताएका हुन् ।
समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसीले आमजनताले लोकतन्त्रको महसुस हुने गरी यसको अर्थ जनतामा बुझाउन आवश्यक रहेको बताउनुभयो । आमजनताको अधिकार रक्षाका लागि प्रजातान्त्रिक विचार समाजले आफ्नो सन्देश गाउँसम्म पु¥याउन आवश्यक रहेको उहाँको भनाइ थियो । ज्ञान र विचारको पुञ्जको रुपमा समाजमा सकारात्मक भूमिका खेल्न यो समाज सक्रिय हुन आवश्यक रहेको उहाँको बताउनुभयो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्रमुख दयाराम पौडेल, नेपाल शिक्षक सङ्घ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाले समाजमा प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आवश्यक सन्देश प्रवाह गर्न समाजको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । देशमा जब समस्या पर्छ त्यो समयमा शिक्षित वर्ग एक भएर लाग्न आवश्यक रहेको उहाँहरुको भनाइ थियो ।
समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विकास पौडेल, कोषाध्यक्ष सुनिता सडौलाले क्रमश साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।























