अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजद्वारा होलीको शुभकामना


सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रङहरूको पर्व होलीको अवसरमा अस्ट्रेलियामा बसोबास गर्ने हिन्दु तथा दक्षिण एसियाली समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । सन् २०२६ मार्चको यो विशेष सन्देशमा प्रधानमन्त्री अल्बानिजले होलीलाई साझा इतिहास, संस्कृति र परम्परालाई उत्सवका रूपमा मनाउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन्।
विशेषगरी आधुनिक अस्ट्रेलियाको साझा कथामा होलीको रङ, प्रेम र नयाँ जीवनको उमङ्गलाई यहाँका सबै पृष्ठभूमि भएका नागरिकहरूले उत्साहका साथ अंगालेकोमा उनले खुसी व्यक्त गरे। प्रधानमन्त्रीका अनुसार होली जस्ता चाडपर्वहरूले विश्वको हरेक कुनाबाट आएका मानिसहरूको विश्वास र अनुभवबाट अस्ट्रेलिया कसरी लाभान्वित भइरहेको छ भन्ने कुराको स्मरण गराउँछ।
‘हामी एक अर्काका भिन्नताहरूलाई सम्मान गर्छौँ र अस्ट्रेलियाली हुनुको साझा पहिचानमा एकताबद्ध हुन्छौँ,’ उनले आफ्नो सन्देशमा भनेका छन्।
उनले यस वर्षको होलीले मित्रतालाई प्रगाढ बनाउने र समुदायलाई जोड्ने विश्वास व्यक्त गर्दै होलीको गुलाल उडेर गएपछि पनि यसले जोडेको सम्बन्धको शक्ति कायम रहोस् भन्ने कामना गरेका छन्।























