के अब अमेरिकी स्थल सेनाले इरानमा बुट बजार्ला ?


अमेरिकाले शनिबारदेखि इरानविरुद्ध ठुलो सैन्य अभियान सुरु गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अपरेसन एपिक फ्युरी नाम दिएको यस अभियानअन्तर्गत इरानभरका विभिन्न लक्ष्यहरूमा आक्रमण गरिएको छ।
- आक्रमणमा कति मानिसको मृत्यु भयो?
इरानी रेड क्रिसेन्टका अनुसार, इरानमा कम्तीमा ७८७ जनाको मृत्यु भएको छ। अमेरिकाले इरानमाथि आक्रमण जारी राख्दा र इरानले पनि यस क्षेत्रमा रहेका अमेरिकी अखडा तथा इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफी हमला गर्दा ६ जना अमेरिकी सैनिक मारिएका छन् भने १८ जना घाइते भएका छन्।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथका अनुसार एउटा प्रोजेक्टाइलले हवाई सुरक्षा प्रणालीलाई छिचोल्दै सुरक्षित अमेरिकी सैन्य अखडामा प्रहार गरेको थियो । उनले उक्त अखडाको स्थान खुलाएनन्, तर प्राप्त विवरणहरूले यो हताहती कुवेतमा भएको सङ्केत गरेका छन्।
‘हामीसँग हवाई सुरक्षा प्रणाली छ र उताबाट धेरै आक्रमण भइरहेका छन्। हामी धेरैजसोलाई नष्ट गर्छौँ, हाम्रो हवाई सुरक्षा प्रणाली उत्कृष्ट छ,’ हेगसेथले भने।
उनले थपे, ‘कहिलेकाहीँ दुर्भाग्यवश एउटा आक्रमणले सुरक्षा घेरा तोड्न सक्छ, जसलाई हामी स्क्वर्टर भन्छौँ । यस विशेष घटनामा, त्यसले एउटा रणनीतिक अपरेसन सेन्टरमा प्रहार गर्यो।’
इरानमा, अहिलेसम्म रिपोर्ट गरिएको सबैभन्दा घातक एकल घटना दक्षिणपूर्वी सहर मिनाबमा भएको छ, जहाँ एउटा बालिका आधारभूत विद्यालयमा आक्रमण भएको थियो। त्यहाँ कम्तीमा १६५ जना विद्यार्थीको मृत्यु भएको छ।
- के अमेरिका इरानसँग युद्धमा छ?
अमेरिकी संविधानले युद्धको घोषणा गर्ने विशेष अधिकार कंग्रेसलाई दिएको छ। तर, राष्ट्रपति सेनाको परमाधिपति हुने भएकाले तत्काल आइपर्ने खतराहरूको जवाफ दिने अधिकार उनीसँग हुन्छ।
ह्याम्लाइन विश्वविद्यालयका राजनीति विज्ञान र कानुन विभागका प्राध्यापक डेभिड शुल्जले अल जजिरालाई बताएअनुसार, यही संरचनाका कारण आधुनिक राष्ट्रपतिहरूले सैन्य कारबाहीलाई रक्षात्मक वा आपत्कालीन कदमको नाम दिएर औपचारिक युद्ध घोषणाको नियमलाई छल्ने गरेका छन्।
अमेरिकाले अन्तिम पटक औपचारिक रूपमा दोस्रो विश्वयुद्धमा युद्धको घोषणा गरेको थियो। भियतनाम र इराकजस्ता द्वन्द्वहरू औपचारिक घोषणाबिना नै लडिएका थिए।
सन् १९७३ मा, कंग्रेसले वार पावर्स रिजोलुसन पारित गर्यो, जसले राष्ट्रपतिको एकल सैन्य कारबाहीलाई ६० दिनमा सीमित गर्ने प्रयास गर्छ। यस कानुनअनुसार राष्ट्रपतिले आक्रमण सुरु भएको ४८ घण्टाभित्र कंग्रेसलाई जानकारी गराउनुपर्छ।

ट्रम्पले कंग्रेसलाई आक्रमणबारे जानकारी दिँदै कूटनीतिक समाधानको प्रयासका बाबजुद इरानको खतरा असह्य भएको बताएका छन्। यद्यपि, अमेरिका र इरानबिच मध्यस्थता गरिरहेको ओमानले दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएको थियो।
डेमोक्रेटिक सांसदहरूले आक्रमणको औचित्यमाथि प्रश्न उठाएका छन् र वार पावर्स रिजोलुसनको सम्भावित उल्लङ्घनबारे चिन्ता व्यक्त गरेका छन्।
ब्रिटिस कोलम्बिया विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक पल क्विर्कका अनुसार, अन्ततः आक्रमण र युद्ध बिचको भिन्नता प्रायः यसको अवधि र तीव्रतामा भर पर्छ। उनले भने, ‘यदि यो छोटो छ भने अमेरिकीहरू यसलाई आक्रमण भन्छन्, तर यदि यो हप्ता वा महिनौँसम्म चलिरह्यो भने (जुन सम्भावना देखिन्छ) यसलाई युद्ध भनिनेछ।’
- अमेरिकाले इरानमाथि किन आक्रमण गर्यो?
ट्रम्प प्रशासनले यस आक्रमणका पछाडि निम्न मुख्य कारणहरू प्रस्तुत गरेको छ:
१. तेहरानको आणविक कार्यक्रम रोक्न:
ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु प्रमुख लक्ष्य रहेको स्पष्ट पारेका छन्। ‘आक्रमणको लक्ष्य इरानको आणविक कार्यक्रमलाई सदाका लागि निमिट्यान्न पार्नु हो,’ ट्रम्पले भने।
तर, आक्रमणअघि इरान आणविक हतियार बनाउने नजिक थियो भन्ने दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण प्रशासनले पेस गरेको छैन। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले हिजो मात्रै इरानसँग आणविक हतियार कार्यक्रम रहेको कुनै प्रमाण नभएको बताएको थियो।
२. अग्रिम रक्षा:
अमेरिकाले यो आक्रमण आफ्ना सेना, अखडा र सहयोगीहरूमाथि इरानको सम्भावित आक्रमण रोक्न चालिएको अग्रिम र रक्षात्मक कदम भएको तर्क गरेको छ। वास्तवमा, अमेरिकी आक्रमणपश्चात् इरानले अमेरिकी सेना रहेका खाडी राष्ट्रहरूमा मिसाइल र ड्रोनको वर्षा गरेको छ।
विदेशमन्त्री मार्को रुबियोले इजरायलले इरानमाथि सैन्य आक्रमणको तयारी गरिरहेकाले अमेरिकाले कदम चालेको सङ्केत गरे। उनले भने, ‘हामीलाई थाहा थियो कि इजरायली कारबाही हुँदैछ… र हामीलाई यो पनि थाहा थियो कि उनीहरूले आक्रमण गर्नुअघि नै हामीले अग्रिम कारबाही नगरेको भए, हामीले ठुलो मानवीय क्षति व्यहोर्नुपर्थ्यो।’
_nqVkMBGPjW.jpg)
तर, विशेषज्ञहरूका अनुसार प्रशासनको भनाइमा एकरूपता छैन। ट्रम्प आफैँले रुबियोको भनाइलाई खण्डन गरेका छन्। मङ्गलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तेहरानले पहिले आक्रमण गर्छ भन्ने लागेर अमेरिकाले आक्रमण गरेको बताए। स्टिम्सन सेन्टरका वरिष्ठ फेलो क्रिस्टोफर प्रेबल भन्छन्, ‘हामीलाई प्रशासनको लक्ष्य के हो भन्ने नै थाहा छैन। उनीहरूका कुराहरू बाझिएका छन्।’
३. सत्ता परिवर्तन :
ट्रम्पले इरानी जनतालाई आफ्नो सरकार कब्जा गर्न र आफ्नो भाग्यको नियन्त्रण आफैँ लिन खुला रूपमा आह्वान गरेका छन्।
_mXnY7d7sdE.jpg)
४. इरान समर्थित समूहहरूलाई लक्षित गर्दै:
यस अभियानको अर्को उद्देश्य लेबनानको हिजबुल्लाह, यमनको हुथी र गाजाको हमासजस्ता समूहहरूलाई इरानले दिने समर्थनलाई नष्ट गर्नु पनि हो।
अहिलेसम्म अमेरिकाले हवाई र नौसैनिक आक्रमणमा मात्र भर परेको छ र स्थल आक्रमणको कुनै औपचारिक घोषणा भएको छैन। तर ट्रम्पले यसको सम्भावनालाई नकारेका छैनन्। इरानमा अमेरिकी सेना परिचालन हुन सक्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले ‘कहिल्यै हुँदैन भनेर म भन्दिनँ’ भन्दै प्रशासनले ‘जे आवश्यक पर्छ त्यो गर्ने’ बताए।
विशेषज्ञहरू भन्छन्, हवाई आक्रमणले मात्र इरानको आणविक कार्यक्रमलाई स्थायी रूपमा अन्त्य गर्न सक्ने सम्भावना कम छ, जुन कार्यक्रम सधैं शान्तिपूर्ण रहेको तेहरानको दाबी छ। ‘तपाईं कुनै पनि देशको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट वा उन्मूलन गर्न सक्नुहुन्न। उनीहरूसँग सधैं यसलाई पुनर्निर्माण गर्ने क्षमता हुन्छ,’ प्रेबलले भने।
_QlGBD2nqzd.jpg)
तर यदि अमेरिकाले स्थल सेना पठाउने हो भने, चुनौतीको स्तर निकै ठुलो हुनेछ । चाहे ट्रम्पको लक्ष्य इरानको आणविक केन्द्र तथा मिसाइल नष्ट गर्नु होस् वा सत्ता परिवर्तन गर्नु होस्।
प्रेबल भन्छन्, ‘सन् २००३ को इराकको तुलनामा इरान तीनदेखि चार गुणा ठुलो देश हो। इराकमा शान्ति कायम गर्न अमेरिकासँग कहिल्यै पर्याप्त सेना थिएन… र इरानलाई अराजकतामा फस्नबाट रोक्न आज अमेरिकासँग त्यति धेरै सेना छैन।’
सन् २००३ मा इराकमाथिको अमेरिकी आक्रमणले केही हप्तामै नेता सद्दाम हुसेनलाई सत्ताच्युत त गर्यो, तर त्यसपछिको कब्जा वर्षौँसम्म चल्ने विद्रोहमा परिणत भयो, जसलाई नियन्त्रण गर्न एक समयमा १ लाख ५० हजारभन्दा बढी अमेरिकी सैनिक आवश्यक परेको थियो।
विज्ञहरूका अनुसार इरानमा कुनै पनि स्थल अपरेसन अत्यन्त कठिन हुनेछ। ‘यसको तुलनामा इराक मिसन निकै सजिलो देखिनेछ,’ प्रेबलले थपे, ‘र पक्कै पनि, इराक मिसन सजिलो थिएन। इरानमा सेना पठाउनु अत्यन्तै महँगो र लामो समयसम्म लम्बिने सम्भावना छ– विशेषगरी इरानी जनताका लागि, तर अमेरिकी सैनिक महिला तथा पुरुषहरूका लागि पनि।’

- अमेरिकाले इरानमा उच्च गतिको हवाई कारबाही कति लामो समयसम्म धान्न सक्छ?
यो मुख्यतया तीनवटा पक्षमा निर्भर गर्छ: सैन्य स्रोतसाधन, आर्थिक कोष र राजनीतिक इच्छाशक्ति।
सांसदहरूले अभियानलाई निरन्तरता दिनबाट रोक्ने प्रस्ताव पारित गरेर ट्रम्प प्रशासनलाई अपरेसन घटाउन वा अन्त्य गर्न बाध्य पार्न सक्छन्। वासिङ्टन डीसीबाट अल जजिराकी रोजिल्यान्ड जोर्डनले रिपोर्ट गरेअनुसार, डेमोक्र्याटहरूले पर्याप्त रिपब्लिकनहरूलाई आफ्नो पक्षमा ल्याउन सक्छन् कि सक्दैनन् भन्ने अनिश्चित छ, विशेषगरी कंग्रेसका दुवै सदनमा रिपब्लिकनहरूको झिनो बहुमत भएकाले।
सैन्य क्षमता अर्को सीमितता हो। मिसाइल, प्रिसिजन-गाइडेड हतियार, इन्टरसेप्टर प्रणाली र अन्य उपकरणहरूको भण्डार सीमित छ। पेन्टागनको सम्झौताअन्तर्गत रक्षा ठेकेदारहरूले सक्रिय रूपमा हतियार उत्पादन र आपूर्ति नगरेसम्म यी भण्डारहरू अन्ततः रित्तिँदै जानेछन्।























