दोहास्थित नेपाली दुतावासद्वारा कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध


दोहा, कतार । कतार स्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध गरेको छ । दुतावासले कतारको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन, सूचना बमोजिम सजग रहन आग्रह गर्दै कतारी हवाईक्षेत्र खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका कतारको सिभिल एभियासन अथोरिटीको वेबसाइट हेर्न आग्रह गरेको छ ।
दुतावासले अफवाहपूर्ण सूचना सामग्री तथा घटनास्थलको तस्बिर-भिडियो सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै भिडभाड हुने स्थानमा आवश्यकता बाहेक नजान आग्रह अनुरोध गरेको छ ।
त्यसैगरी दुतावासले कुनै अपरिचित शव वा शंकास्पद वस्तु नजिक नजान, सुरक्षितसाथ घरभित्रै बस्न सिसा, झ्याल र बार्दली छेउछाउ नबस्न आग्रह गर्दै मोबाइल फोन पूर्ण चार्ज गरी राख्न तथा केही नगद र महत्वपूर्ण परिचयपत्र समेत आफूसाथ राख्न समेत आग्रह गरेको छ ।
त्यस्तै नेपालमा रहेका आफ्ना परिवारसँग तथा कतारस्थित आफू बसेको क्षेत्रमा भएका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन नेपाल तथा अन्य मुलुकका लागि दोहा ट्रान्जिट हुँदै यात्रा गर्ने क्रममा दोहामा रहनुपरेका नेपाली नागरिकलाई मेडिकल इमर्जेन्सी परेमा राजदूतावासलाई तुरून्त सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै दुताबासले यस परिस्थितिको फाइदा उठाउँदै केही ठगहरूले विभिन्न बहानामा नेपाली नागरिकलाई फोन गरी दुःख दिएको जन गुनासो आएकोले यस्ता ठगीबाट जोगिन आफ्ना व्यक्तिगत तथा महत्वपूर्ण विवरण (कतारी आइडी, राहदानी, बैङ्क खाता, ए.टि.एम. कार्ड आदि सम्बन्धी विवरण) नदिन समेत आग्रह गरेको छ ।
दुताबासल कतारस्थित केही महत्वपूर्ण सम्पर्क नम्बर समेत सार्बजनिक गरेको छ । जसमा नेपाली राजदूतावास, दोहा +९७४४४६७५६८९, +९७४ ६६२१ ४४१९, प्रहरी / आगजनी / एम्बुलेन्स- ९९९, हमाद जेनरल हस्पिटल +९७४ ४४३९ ४४४४, नेपाल एयरलाइन्स +९७४ ६६५६ ०८३३, हिमालय एयरलाइन्स +९७४५०७२१७४९, कतार एयरवेज इमर्जेन्सी रेस्पोन्स टिम +९७४४९४४५५५५ रहेका छन् ।























