सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्यः सञ्चारमन्त्री खरेल


काठमाडौँ, पुस २५। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ । सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिनुभयो ।
सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्रीमन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद् र सरकारमा युवाको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले विभागको कामलाई बढी प्रविधिमैत्री एवं सेवालाई चुस्त र प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सूचना प्रविधि विभागका महानिर्देशक श्री चन्द्र साहले विभागलाई नीतिगत र संरचनागत सुधार गरी सेवालाई प्रविधिमैत्री बनाइने विश्वास व्यक्त गर्नुभयो ।






















