चितवनमा ८० हजार पशुलाई खोरेतबिरुद्धको खोप लगाइने

रासस
२०८२ पुस २१ | मध्यान्ह ०२:०९ बजे

चितवन, पुस २१। चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिएपछि खोरेतविरुद्धको खोप लगाउन लागिएको हो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा बितरण गरिएको छ । जिल्लामा एक लाख गाई भैँसी पालिएको उहाँले बताउनुभयो । मङ्सिरमा रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको थियो ।
बाहिरबाट खरिद गरेर जिल्लामा ल्याइने पशुलाई २१ दिन क्वारेन्टिनमा राखिन्छ । उहाँले थप्नुभयो, “सङ्क्रमण देखिएका पशुहरूलाई समेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जङ्गली जनावारहरूबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो ।


















