मानव पुर्खाले पहिलो चुम्बन कहिले गरे ?


धेरै प्रकारका प्राणीहरू चुम्बन गर्छन् । तर यसको उद्विकास कसरी भयो भन्ने गुत्थी अझै फुकेको छैन । बरु प्राणीहरूमा प्रजनन तथा अस्तित्व रक्षामा कुनै पनि स्पष्ट योगदान नगर्ने चुम्बनले विभिन्न प्रकारका सङ्क्रामक रोग फैलाउन भने सघाउने गरेको छ । चुम्बनले विभिन्न मानव समाजहरूमा भावनात्मक तथा सांस्कृतिक महत्त्व राख्ने गरेको छ । तर आजसम्म पनि यसको उद्विकासको इतिहासबारे अनुसन्धानकर्ताहरुको त्यति ध्यान नपुगेकै देखिन्छ ।
एउटा नयाँ अनुसन्धान अन्तर्गत अनुसन्धानकर्ताहरूले पहिलो पटक ‘प्राइमेट’ हरुको वंश वृक्षको आधारमा अन्तर–प्रजाति विधिबाट चुम्बनको उद्विकास इतिहासको पुनर्संरचनाको प्रयास गरे । अध्ययनबाट प्राप्त नतिजा अनुसार ठुला ढेडुहरूमा धेरै अघिदेखि चुम्बनको गतिविधि चल्ने गरेको देखियो ।
विश्लेषण गर्नका लागि अनुसन्धान समूहले सबैभन्दा पहिले चुम्बनको परिभाषा स्पष्ट गर्यो । यो काम चुनौतीपूर्ण थियो किनभने मुख जोडेर गरिने हरेक क्रियाकलाप चुम्बन जस्ता देखिनछन् । तर ती सबै चुम्बन होइनन् ।

विभिन्न फरक प्रजातिहरूमा चुम्बनको खोज गर्दै जाँदा परिभाषा पनि सोही अनुरूप उपयोगी बनाउँदै जानुपर्ने भयो । त्यसैले अनुसन्धान टोलीले चुम्बनलाई आक्रमणको उद्देश्य नराखिएको, मुख र मुख जोडिने तथा आपसमा खानेकुरा हस्तान्तरण नहुने गतिविधिको रूपमा परिभाषित गर्यो ।
परिभाषा स्पष्ट गरेपछि अनुसन्धानकर्ताहरूले आधुनिक प्राइमेट प्रजातिका चुम्बनबारेका पूर्व साहित्यको विस्तृत तथ्याङ्क सङ्कलन गरे । मूल ध्यान भने अफ्रिका, युरोप र एसियाका बाँदर र ढेडुहरूमा केन्द्रित थियो । सुचीमा चिम्पान्जी, बोनोबो तथा ओराङगुटानहरु पनि समावेश थिए । यी सबैमा चुम्बनको गतिविधि पाइएको थियो ।
सङ्कलित तथ्याङ्कमा उनीहरुले ‘फाइलोजेनेटिक’ विश्लेषण गरे । चुम्बनलाई ‘व्यवहार’ का रूपमा लिएर त्यसलाई प्राइमेटका परिवार तथा वंश वृक्षमा वर्गीकरण तथा मिलान गरे । ‘बायेसियन मोडेलिङ’ भनिने तथ्यांकशास्त्रीय विधिको प्रयोग गरेर विभिन्न उद्विकासका परिदृष्टको कृत्रिम रूपमा नक्कल गरेर हेर्न मिल्ने (सिमुलेसन) व्यवस्था मिलाएर फरक–फरक पुर्खाहरु चुम्बनमा सम्लग्न हुन सक्ने सम्भावनाको आकलन गरे ।
यो मोडेलबाट उन्नत तथ्यांकीय अनुमान निस्कियोस् भनेर ‘मोडेल’ लाई १ करोड पटक ‘रन’ गराए ।अक्सफोर्डको विभागकै अर्का प्राध्यापक स्टुआर्ट वेष्ट भन्छन् ‘उद्विकासको जीव विज्ञान र व्यवहारिक तथ्याङ्कलाई मिलाएर हामीले चुम्बन जस्ता जीवाश्म अवशेषमा फेला नपर्ने सूचनाहरू अनुमान गर्न सकिने अवस्था सिर्जना गर्यौँ । त्यसले हामीलाई आधुनिक तथा लोप भएर गएका दुवै प्रजातिहरूमा सामाजिक व्यवहारको अध्ययन गर्न सहज बनायो ।’
यसरी ठुलो ढेडु प्रजाति बाहेक अन्यको तथ्याङ्कमा सीमाका बाबजुद अनुसन्धानकर्ताहरूले भविष्यमा यस्तै प्रकृतिका अनुसन्धानका लागि काम लाग्ने विधिको भने विकास गरिदिए । साथै सामाजिक व्यवहार तथा उद्विकासको इतिहास अध्ययनका लागि चुम्बनको स्पष्ट परिभाषा पनि गरे ।प्राध्यापक डा. क्याथरिन ट्याल्बोट भन्छिन्, ‘हामीलाई चुम्बन सामान्य वा विश्वव्यापी व्यवहार होला भन्ने जस्तो लाग्न सक्छ । तर यो केवल ४६ प्रतिशत मानव संस्कृतिहरूमा पाइएका दस्ताबेजहरू हुन ।’
उनी थप्छिन्, ‘विभिन्न प्रकारका फरक समाजमा सामाजिक मान्यता तथा परिवेश पनि व्यापक रूपमा भिन्न हुन्छन् । त्यसैकारण चुम्बन एक उद्विकासको प्रक्रियाबाट आएको व्यवहार हो कि सांस्कृतिक आविष्कार भन्ने प्रश्न खडा हुन्छ । यो अनुसन्धान त्यही प्रश्नको सम्बोधन गर्ने पहिलो चरण हो ।’उक्त अध्ययनको प्रतिवेदन ‘चुम्बन विकासको तुलनात्मक दृष्टिकोण’ शीर्षकमा ‘इभोलुसन एण्ड ह्युमन बिहेवियर’ मा प्रकाशित भएको छ ।























