चितवनका दुई हात्ती कतार पठाइँदै


चितवन, भदौ १६ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउनुहुन्छ । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।
यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।
विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।
यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।






















