अपराध

रौतहटबाट लागूऔषधसहित दुई युवक पक्राउ

नवलपुर टुडे
२०८२ असार २२ | मध्यान्ह १२:०३ बजे

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलशैया–सिम्री सडक खण्डको जङ्गल क्षेत्रबाट लागूऔषधसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका–८ निवासी १८ वर्षीय माइला भनिने नव बहादुर वाइबा र सोही ठाउँ बसोबास गर्दै आएका १९ वर्षीय दावा योञ्जन रहेको छ। 

शनिवार साँझ ६:१५ बजेमा सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा दुई जनाको साथबाट ठुलो परिमाणमा लागूऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताए।

उनीहरूले झोलामा लुकाइछिपाई लागूऔषध बोकेको अवस्थामा सशस्त्र प्रहरीले फेला परेको हो। उनीहरूको साथबाट ट्रामोडोल ५० एमजी ३०० पिस, नाइट्राजेपाम ट्याब्लेट १० एमजीको १४० पिस ,नेट्जेकेयर १० एमजी ५ पिस, नुफिन इन्जेक्सन  १ थान, डाइजेपाम  १ थान, फेनेरगन १ थान बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्टहरु