वीरगञ्जमा २८ लाख रुपैयाँसहित तीनजना हुण्डी कारोबारी पक्राउ


वीरगञ्ज । वीरगञ्जमा २८ लाख रुपैयाँसहित तीनजना हुण्डी कारोबारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जका विभिन्न स्थानबाट २८ लाख २८ हजार नगदसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले मकालु चौकबाट पर्सा पकाहामैनपुर २ का २६ वर्षीय अनिलकुमार बर्णवाल, कृषी विकास बैंक लिंकरोडबाट वीरगञ्ज महानगर ३ आदर्शटोलका २३ वर्षीय बिनितकुमार श्रीवास्तव र रजत जयन्ती चौक (भन्सार एरिया) बाट बारा परवानीपुर ४ का ४४ वर्षीय दीपककुमार सोनारलाई २८ लाख २८ हजार नगदसहित नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्राले जानकारी दिए ।
बर्णवालको साथबाट ९ लाख ४७ हजार, श्रीवास्तवको साथबाट १५ लाख ८१ हजार र सोनारको साथबाट ३ लाख गरी जम्मा २८ लाख २८ हजार स्रोत खुल्न नसकेको रकम सहित तिनै जनालाई पक्राउ गरेको प्रहरकिो भनाइ छ । पक्राउ परेका तिनै जना हुण्डी कारोबारी भएकाले प्रहरीले जिल्ला अदालत पर्सामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरी प्रमुख एसपी मिश्रले बताए ।























