Opens in a new tab

अर्थ

पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

रासस
२०८१ चैत्र २१ | मध्यान्ह ०३:१२ बजे
नवलपरासी, चैत २१ । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।
 
वैदेशिक रोजगारमा जानु भन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती गर्न थाल्नुभएको हो ।
 
कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताउनुभयो । करिब रु दुई लाख लागतमा एककठ्ठा जग्गामा दुई हजार ५०० सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुका वर्ष खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले केही नोक्सानी भएको उहाँले अनुभव सुनाउनुभयो ।
 
“जाडोमा उत्पादन बढेसँगै बजार मूल्य घट्छ, गर्मीको समयमा तापक्रम बढेसँगै च्याउ उत्पादन घटछ । यसवर्ष उत्पादन र बजारीकरणमा कुनै समस्या आएन भने रु पाँच लाख बराबरको च्याउ बिक्री गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।
 
आज कृषि विकास निर्देशनालय बुटवलका बागवानी निर्देशक सन्देश धिताल, कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रवीन्द्रनाथ चौबेलगायत कर्मचारीले बर्माले उत्पादन गर्नुभएको च्याउ फार्र्मको अवलोकन गर्नुभयो ।
 
जिल्लामा २५ जना किसानले व्यावसायिक रूपमा च्याउखेती गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख चौबेले जानकारी दिनुभयो । केन्द्रले किसानको सहजताका लागि समन्वय र सहकार्य गरिरहेको उहाँको भनाइ छ ।

कमेन्टहरु