Opens in a new tab

देश

‘सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी छ’

नवलपुर टुडे
२०८१ फाल्गुन २४ | बिहान ०७:११ बजे

काठमाडौँ । सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरेतापनि  उनीहरुमाथि हुने सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताएका छन् । महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा (८ मार्च)को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी  गर्दै उनले पितृसत्तात्मक सोच, लैंगिक भेदभाव, महिला हिंसा, सम्पत्तिमा समान पहुँचको अभावजस्ता समस्या विद्यमान रहेको उल्लेख गरे । 

सन्देशमा उनले भनेका छन्, “अधिकार कानुनमा मात्र सीमित नहोस्, व्यवहारमा पनि समान अवसरको प्रत्याभूति होस् भन्ने हाम्रो साझा लक्ष्य हुनुपर्छ ।” उनले महिला आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्दै समतामूलक समाज निर्माणका लागि आह्वान गरे । महिला दिवस हरेक वर्ष मार्च ८ मा लैङ्गिक समानता, महिला अधिकार र उनीहरूको उपलब्धिहरूको सम्मानका लागि मनाइन्छ । यो दिवसले महिलाले सामना गरेका चुनौतीहरूको स्मरण गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा उनीहरूको योगदानलाई उजागर गर्ने गरिएको छ । 

“नेपालको महिला आन्दोलनले एक शताब्दीभन्दा लामो सङ्घर्षपछि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, महिलाले राज्यका विभिन्न तहमा आफ्नो उपस्थिति स्थापित गरेका छन्, महिलाको विद्रोह र सङ्गठित प्रयत्नकै कारण राजनीतिक दलले महिला अधिकारका सवाललाई आफ्नो एजेन्डाका रूपमा स्वीकार गरेका छन्,” उनले भने । नेपालको संविधान र कानुनले महिलाका हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले संवैधानिक व्यवस्थाअनुसार सङ्घीय, प्रदेश तथा स्थानीय तहमा महिला प्रतिनिधित्वको व्यवस्थासमेत गरिएको बताए । 

 

कमेन्टहरु