इलामको रोङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु


इलाम। इलामको रोङ गाउँपालिका –३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका बाबुछोराको मृत्यु भएको छ।
रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय ६ खादीगाउँ बस्ने बर्ष अन्दाजी ४० का दिर्घ राई र पछाडि सवार उनका बुबा बर्ष अन्दाजी ७० का पवनकुमार राई गम्भीर घाइते भएका थिए। मोटरसाइकल चालक दिर्घ राइको राति ८: १२ बजे र उनका बुबा पवनकुमार राईको ८: २१ बजे उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल, टिपर, टिपर चालक माईजोगमाई –२ शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याय इलामले जनाएको छ।























