अपराध

नवलपरासीको डान्सबारमा भएको कुटपिटबाट एक जनाको मृत्यु

रामजी प्रजापती
२०८१ फाल्गुन १ | मध्यान्ह ०८:११ बजे

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- १३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबिच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको छ ।

घटना गत माघ २८ गते मध्यराती भएको भएपनि घटनामा घाईते भएका प्रतापुर गाँउपालिका- ९ का सन्त बहादुर चौधरीको उपचारको क्रममा बुधबार साझ बुटवलमा मृत्यु भएको हो । गम्भिर घाईते भएका चौधरीको बुटवलस्थित चौराह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका संञ्चालक राकेश हरिजनसहित प्रतापपुर गाउँपालिका- १ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

डान्सबार भित्र भिडियो बनाएको निहुँमा झगडा भएको बताईएको छ । घटनामा मिन्टु र सरोज कुमार चौधरी पनि घाईते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी ईन्स्पेक्टर शिव कुमार क्षेत्रीले जानकारी दिनुभयो ।

घटना मध्यरातमा भएको पाईकाले उक्त होटलको संञ्चालन अवधिको सन्दर्भमा पनि प्रश्न खडा भएको छ । सो क्षेत्रमा विभिन्न यौनजन्य गतिविधि संञ्चालन गर्ने गरी बार तथा रेष्टुरेन्ट संञ्चालन गरिरहेका गिरोहको समाचार विभिन्न मिडियामा आएको जानकारी भएता पनि स्थानीय प्रशासन मौन रहदा यस्तो घटना घटेको स्थानीयहरुको दाबी रहेको छ।

कमेन्टहरु