देश

पत्रकार बुढाथोकीलाई फोनबाट धम्की दिनेलाई कारबाही गर्न महासंघको माग (बिज्ञप्तिसहित)

जगत ठाडा मगर
२०७८ साउन ३ | बिहान ०८:०४ बजे

काठमाडौ । नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक तथा महासंघ सदस्य गजेन्द्र बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ। केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराएका थिए।

बुढाथोकीमाथि कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको भन्दै महासंघले आपत्ति पनि जनाएको छ।

उक्त घटनाबारे महासंघको ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिई नेपाल बाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा पत्रकार बुढाथोकीले फलोअपसहित समाचार लेखेपछि बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिई पत्रकार बुढाथोकीको नाम नै तोकेर बैठकमा तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराउनुका साथै केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराएका थिए,’ महासंघले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको भनाइ छ। ‘महासंघ घटनाको छानबिन गरी पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्धमा यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ,’ महासचिव पुरीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्ति:
photo 2021 07 18 08 44 59

कमेन्टहरु