झापाका सात पालिकामा आज स्थानीय विदा


झापा । झापाका सात पालिकाले आजका लागि स्थानीय विदा दिएका छन्।
दक्षिणी क्षेत्रका तीन पालिकाले किचकबध मेलाका लागि विदा दिएका छन् भने बिर्तामोड नगरपालिका तथा कमल, बाह्रदशी र झापा गाउँपालिकाले सन्थाल जातिको सोहराय पर्वको लागि विदा दिएको जनाएका छन्।
भद्रपुर– २ स्थित किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा लाग्ने मेलाका लागि भद्रपुर, हल्दीबारी र कचनकवलले आजका लागि सार्वजनिक विदा दिएका हुन्।
स्वस्थानी पूर्णिमाको दिन किचकबधमा मेला लाग्ने गरेको छ। महाभारतकालीन इतिहाससँग जोडिएको त्यस ठाउँमा भीमले किचकलाई मारेपछि किचकबध नाम रहन भएको भनाइ छ।
आदिवासी सन्थाल जातिको सोहराय पर्वको अवसरमा बिर्तामोड नगरपालिका तथा कमल, बाह्रदशी र झापा गाउँपालिकाले स्थानीय बिदा दिएका छन्।
सन्थाल समुदायको सोहराय पर्वका लागि यसअघि माघ १५ गते नै भद्रपुर नगरपालिका र हल्दीवारी गाउँपालिकाले विदा दिएका थिए।























