भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान

काठमाडौँ, माघ २८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनको लागि भारत सरकारको प्रतिबद्धतालाई उक्त कार्यक्रमले थप उजागर गर्नेछ । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गर्ने बताइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त कार्यक्रम १० देशका ७० हजार ऊर्जा व्यवसायी सहभागी रहने बताइएको छ । विभिन्न ९० सत्रमा छलफल हुने, पाँच सय वक्ताले धारणा राख्ने र सात सय कम्पनीले प्रदर्शन कक्ष राख्ने जनाइएको छ ।
मन्त्री खड्काले उक्त कार्यक्रममा ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई वटा मन्त्रिस्तरीय सेसनलाई सम्बोधन गर्नुहुनेछ । मन्त्री खड्कासँगै कार्यक्रममा भाग लिन मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।























